नेपाल एकीकरणको समयमा प्रयोग गरिएका पदमार्ग, कोट, गढी, दरबार, किल्ला, चौताराहरूको प्रचारप्रसार र प्रवर्द्धनका लागि नेपाली सेनाको टोली गोरखादेखि जितगढीसम्मको पैदलयात्रा सुरू गरेको छ। गत चैत्र २८ गते गोरखा दरबारबाट सुरु भएको पदयात्रा टोली पाल्पा आइपुगेको छ।
नेपाली सेनाको गोरखा जितगढी पदयात्रा टोलीलाइ मंगलबार पाल्पाको रामपुर केलादीघाटस्थित दि फेमस महिन्द्र दल गण, रामपुर नगरपालिका, जिल्ला स्थित सुरक्षानिकाय, जनप्रतिनिधी लगायत स्थानीयवासीले पञ्चेवाजा सहित स्वागत गरेका छन्।
सातदिनको पैदलयात्रा गरी नेपाली सेनाको उक्त टोली गोरखा, तनहँ र स्याङ्जा हुँदै पाल्पा आएको हो। उक्त टोली बुधवार रामपुरबाट तानसेनका लागि प्रस्थान गरेको छ।
नेपाली सेनाले यसअघि हरेक वर्ष पुस २७ गतेदेखि पूर्वतर्फ गोरखा–काठमाडौं एकीकरण पदयात्रा गर्दै आएको थियो। पश्चिमतर्फ गोरखा–जितगढी पदयात्रा सुरु गरेको यो तेस्रो पटक हो।
२०७९ सालदेखि हरेक वर्ष चैत्र २८ गतेदेखी वैशाख ७ गतेसम्म गोरखादेखि जितगढी पदयात्रा हुँदै आएको छ।
पदयात्राको थालनी गरेको नेपाली सेनाको रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित गोरखा–जितगढी पदयात्रा शुरु गरिएको जानकारी दिए।
गोरखा दरबारस्थित हनुमान भन्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झण्डा, टर्च लाइट र पाँचवटै गणको झण्डा बोकेर चैत्र २८ गते सेनाको ५३ जनाको टोली पदयात्रामा निस्किएको थियो।
पदयात्रामा पृथ्वीनारायण शाहले खडा गरेका रिपुमर्दन गणसँगै कालिबक्स गण, पुरानो गोरख, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा भाग लिएको गुरुबक्स गणको टोली सहभागी छन्।
गोरखाबाट निस्किएको रिपुमर्दन गणले बोकेको झण्डा तनहुँ पालुङटारस्थित सतिघाटमा रहेको नेपाली सेनाको टोलीलाइ हस्तान्तरण गरेको थियो।
तनहुँको टोलीले पाल्पासम्म ल्याएर पाल्पास्थित नेपाली सेनाको टोलीलाइ हस्तान्तरण गरेको थियो भने पाल्पाको टोलीले रुपन्देही र पाल्पाको सिमाक्षेत्र नुवाकोट गढीमा पुगेपछि रुपन्देहीको टोलीलाइ झण्डा हस्तान्तरण गर्ने छ।
पदयात्रा संयोजक सेनानी जितबहादुर कार्कीले गोरखा जितगढी पदयात्राले जनमानसमा राष्ट्रिय एकताको भावना जगाउन, नेपाल–अंग्रेज बीच युद्धमा नेपाली सेनाले प्राप्त गरेको विजयको इतिहास पुनर्ताजगी गर्न र सेनासँग सम्बन्धित विषयबस्तुको दस्तावेजीकरण गर्न सहयोग मिल्ने बताए।
साथै उनले यो अभियानबाट ऐतिहासिक पर्यटकीय पदमार्गको विकास गर्न पनि सघाउ पुग्ने बताए।
पैदलयात्रामा सहभागी बासुदेव डल्लाकोटीले यो अभियानले राष्ट्रका लागि पुर्खाहरुको योगदान स्मरण र ऐतिहासिक पक्षहरुको उजागर गर्दै नयाँ पुस्तालाइ हस्तान्तरण गर्न सघाउ पुग्ने बताए।
उक्त टोलीले पैदलयात्रा सुरु गरेको ११ औं दिनमा ३०५ किलोमिटर यात्रा पुरा गरी वैशाख ७ गते बुटवल जितगढीमा आयोजना हुने जितगढी उत्सवमा सहभागिता जनाउने नेपाली सेनाका २२ नं. बाहिनीपती सहायक रथी पुरुषोत्तम खड्काले जानकारी दिए।
तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाइ बुटवल जितगढीमा विजयोत्सवका रुपमा मनाउने गरिँदै आएको छ।
नेपाल एकिकरणको समयमा प्रयोग भएको पदमार्ग, युद्धमा प्रयोग भएका गढी, दरबार, युद्धस्थल, चौताराहरुको अध्ययन अवलोकन गर्दै राष्ट्र र राष्ट्रियतासँग जोडिएका ऐतिहासिक स्थलहरुको बारेमा नयाँ पुस्तालाइ जानकारी गराउने पैदलयात्राको मुख्य उद्देश्य रहेको खड्काले बताए।
ऐतिहासिक दस्तावेजअनुसार युद्धमार्फत आफ्नो साम्राज्य बिस्तार गर्दै हिँडेको इस्ट इण्डिया कम्पनीसँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ देखि ७२ सम्म युद्ध लडेको थियो।
सन् १८१४ नोभेम्बर १ मा बुटवल र स्युराजको विषयमा किचलो उठाइ तत्कालीन इष्ट इण्डिया कम्पनीले नेपाल विरुद्ध एकतर्फी युद्ध घोषणा गरेको थियो। बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार बेलायती सेना र तीन हजार हिन्दुस्तानी फौज लिएर तम्तयार भएका थिए।
जनरल अक्टर लोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने उद्देश्यले अंग्रेजले नेपालतर्फ सेना पठाएको थियो।
बुटवल कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढ्यो। अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भयो। सो युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता भयो। त्यसको तीन महिनापछि जनरल उडकै नेतृत्वमा फेरि बुटवलमा आक्रमण भयो। आक्रमणबाट जितगढी किल्लाको उत्तरतर्फ रहेको सेनकालीन दरबार ध्वस्त भयो। दरबार ध्वस्त भएपनि किल्लाभित्र लुकेर बसेका नेपाली सेनाले अंग्रेजहरुमाथि आक्रमण गरे।
विक्रम सम्बत् १८७१/७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाइ युद्ध कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले विक्रम सम्वत् १८७२ वैशाख ७ गते पराजित गरि सधैको लागि नेपालबाट फिर्ता पठाएको थियो। सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गतेलाइ जितगढी विजय उत्सवको रुपमा मनाउँदै आएको छ।
यसवर्ष पनि वैशाख ७ गते जितगढी उत्सव मनाइने गरी तयारी गरिएको बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले जानकारी दिए।
अहिले बुटवल उपमहानगरपालिकाले नेपाली सेनाको सहयोगमा जितगढीको ऐतिहासिक महत्वलाइ उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गरेको छ। जितगढी किल्लाको संरक्षणका लागि प्रदेश र संघ सरकारले पनि चासो दिएका छन्।