मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
बिहीबार बिहान ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित पूर्व-पश्चिम सडक खण्डमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको हो।
बसमा सवारमध्ये १६ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।
चालक बाराको कोल्बि नगरपालिका-११ का २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस चालक चौधरीले स्टेरिङ लक भएका कारण काट्न खोज्दा नकाटिएर दुर्घटना भएको बताएका छन्।
दुर्घटनाग्रस्त बस दुर्घटनास्थलमै रहेको र सडक अवरूद्ध नभएको प्रहरीले जनाएको छ।
दुर्घटनाका घाइतेहरुको विवरण आउन बाँकी छ।