कैलालीको जंगलमा अचेत अवस्थामा फेला परेका पूर्ववडाध्यक्षको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–९ का ४९ वर्षीय पूर्ववडाध्यक्ष कृष्णबहादुर शाह बिहीबार दिउँसो १ बजेतिर सिमली खोलानजिकै जंगलमा अचेत अवस्थामा फेला परेका थिए। प्रहरीले घोडाघोडी अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
शाह अचेत अवस्थामा फेला परेको ठाउँमा सल्फास नामक बिषादीको खाली डिब्बा पनि फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले सेतोपाटीलाई बताए।
शाह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
घटनास्थल शाहको घर भन्दा झन्डै पौने घन्टा टाढा छ। उनी त्यहाँसम्म पैदल नै गएको खुलेको छ।
एमाले घोडाघोडी नगर कमिटीका उपाध्यक्षसमेत रहेका शाह बिहीबार बिहान साढे ९ बजेतिर घरबाट निस्किएको प्रहरी निरीक्षक साउँदले बताए। बिहान ११ बजेतिर उनी जंगलतिर जाँदै गरेको गोठालाहरूले देखेका थिए।
घटनास्थलमा डायरी फेला परेको र 'सरी म अब यो संसारमा रहने छैन' लेखिएको प्रहरी निरीक्षक साउँदले बताए।
शाहको शव पोस्टमर्टमपछि आफन्तले बुझेर अन्त्येष्टिका लागि लगेको प्रहरीले जानकारी दिएको छ।