कपिलवस्तुको कृष्णनगरबाट आउँदै गरेको बस शुक्रबार बेलुकी ६ बजेतिर दाङमा दुर्घटनामा परेको छ।
दुर्घटनामा परी २० जना जति यात्रु घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जनाएका छन्।
उनका अनुसार बसमा ४० जना सवार छन्। अहिले उद्धारको कार्य चलिरहेको हुँदा घाइतेको संख्या यकिन भइनसकेको समेत उनले बताए। एक जना महिलालाई बसले च्यापेको हुँदा जेसिबीको सहयोगमा निकालिएको छ। उनलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्वामा ना ३ ख ६९९६ नम्बरको बस सडक किनारमै पल्टिएको हो। घाइतेलाई उद्धार गरी लमही अस्पताल र सिसहनियाँतर्फ लगिएको छ। दुर्घटनास्थल लमही बजारदेखि १० किलोमिटर पूर्वमा पर्छ।
तीव्र गतिको बस एकाएक सडक किनारमै पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्।
शुक्रबार बिहान पनि दाङमा बस दुर्घटना भएको थियो।
लमही–कोइलावास सडकखण्डको चिसापानी नजिकै भारतीय यात्रु बोकेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका थिए।
बिहान साढे १० बजेतिर युपी ३२ एम एन ९५६६ नम्बरको भारतीय यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले बताएकी थिइन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर थियो। उनीहरूलाई गढवा स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत भारतको तुलसीपुरस्थित स्वास्थ्य केन्द्रतर्फ रिफर गरिएको प्रहरी निरीक्षक कार्कीले बताइन्। घाइते सबै भारतका रहेको हुँदा उतै रिफर गरिएको उनले जानकारी दिइन्।
बस लखनउबाट पोखरातर्फ जाँदै थियो। बसमा सवार यात्रुहरू सबै भारतीय हुन्। तीव्र गतिमा आएको बस मोडमा सन्तुलन गुमाएर दुर्घटना भएको प्रहरीको आशंका छ।