काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न थप एकजना पक्राउ परेका छन्।
शुक्रबार बेलुका काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने धादिङको सिद्धलेक गाउँपालिका-१ का सन्तोष सिलवाल रहेको सिआइबीका एसपी सुधिरराज शाहीले जानकारी दिए। उनी सन्तोष राजावादी भनेर चिनिन्छन्।
तीनकुनेमा चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग गर्दै हिंसात्मक प्रदर्शन भएको थियो।
प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
घटनापछि प्रहरीले अहिलेसम्म ८२ जना पक्राउ परेका छन्। तीमध्ये आठ जनालाई हाजीर जमानीमा राखेर अनुसन्धान भइरहेको छ। बाँकी प्रहरी हिरासतमा छन्।