दुर्गा प्रसाईं सञ्चालक रहेको दुई वटा अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजालसले बिएण्डसी मेडिकल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको पक्षमा अन्तरिम आदेश जारी भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
अस्पतालकी अपरेसन डाइरेक्टर अञ्जली कार्कीले बैंक खाता फुकुवा गर्न माग गर्दै आइतबार रिट दायर गरेकी थिइन्।
उनले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सहित १४ जनालाई विपक्षी बनाएर दुइटा रिट दायर गरेकी थिइन्।
दुवै अस्पतालमा दुर्गा प्रसाईं सञ्चालक छन्। उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
उनीमाथि अनुसन्धान भइरहँदा उनी सञ्चालक रहेका दुवै अस्पताललाई कालोसूचीमा राखिएको थियो।
कालोसूचीमा राख्दा कारोबार गर्न नपाएको र फुकुवाको माग गर्दै अन्तरिम आदेशको माग भएको थियो।
सर्वोच्चले यसमा कारण देखाऊ आदेश समेत जारी गरेको छ।