भारतको उडिसास्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा फेरि एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।
विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेको भारतीय मिडियाहरूले जनाएका छन्।
घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले पुष्टि गरे।
'उडिसाबाट त्यही खबर आएको छ। हामीले उडिसा सरकारका प्रमुख सचिव, पुलिस कमिसनरसँग कुरा गर्यौं। छात्रावासको ढोका खोलेर हेर्दा आत्महत्या गरेको अवस्थामा भेटिएको भन्ने आएको छ। विस्तृत प्रहरी रिपोर्ट भोलि आउँछ,' राजदूत शर्माले सेतोपाटीसँग भने।
प्रिशा बिटेक अध्ययनरत रहेको सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्रले जानकारी दिए।
भारतीय मिडियाका अनुसार प्रिशाको शव छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो। प्रहरीले बयान लिई शव फरेन्सिक परीक्षणका लागि लगेको र थप अनुसन्धान भइरहेको पनि ती विद्यार्थीले बताए।
यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्।