मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा बिहीबार अपराह्न भएको दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ।
चितवनबाट झापा फर्किँदै गरेको मे १ च ३०४० नम्बरको गाडी (एसयुभी) अनियन्त्रित भई सडक किनारको फलामे बेरियरमा ठोक्किएर पल्टिँदा दमक–३ घर भएका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा गाडीमा सवार ६ जना घाइते भएका छन्।
दुर्घटनापछि ५५ वर्षीय बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।
गाडी चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङ, दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन्।
उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाईंले बताए।
उनीहरू न्यायिक समितिको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा दुर्घटनामा परेको थियो।