शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत 'अनिल बाबा' लाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार उनलाई सुकेधाराबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा उनीविरूद्ध पक्राउ पुर्जी लिएको थियो।
त्यसयता फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।
प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने सरकारी गाडी, निजी घर र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो।
यस घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पनि प्रहरी हिरासतमा छन्।