सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ को बोक्सीकुना खण्डमा क्षति पुर्याएको छ। त्यहाँ रोशी खोलाले मोटरसाइकल मात्रै छिर्न सक्ने गरी सडक कटान गरेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ।
साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार बोक्सी कुना खण्डमा रोशी खोलाले ५० मिटर भाग कटान गरेको छ। माप्ती खोलाको डाइभर्सन बगाएको छ। कटुञ्जे खण्डमा पनि थोरै भागमा क्षति पुर्याएको उनले बताए।
‘माप्ती खण्डमा हामीले काम गर्न भ्याएका थिएनौं। त्यहाँ पुरानै डाइभर्सन थियो। खोलाकै सतहमा भएको डाइभर्सन बगाएको हो,’ उनले भने, ‘अहिले द्रुत गतिमा काम भइरहेको र मध्याह्नसम्ममा सवारी आवागमनको प्रबन्ध मिलाइसक्छौं।’
सोमबार रातिदेखि नै बिपी राजमार्ग अवरूद्ध छ। आज मध्याह्नसम्ममा अवरूद्ध राजमार्ग सञ्चालन ल्याउने गरी कामलाई तीव्रता दिइएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ।
गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाले बिपी राजमार्गको झन्डै २४ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। १३ किलोमिटर त सडक कटान नै गरेको थियो। त्यहाँ अस्थायी रूपमा ट्र्याक खोलेर गाडी सञ्चालन गरिएको थियो। सोमबारको वर्षाले पुनः कटान गरेको हो।
पछिल्लो समय सडक डिभिजन भक्तपुरले वर्षायाममा पनि गाडी गुडाउन मिल्ने गरी नदी गहिर्याउने, डाइभर्सन उकास्ने काम गरिरहेको थियो। करिब पाँच किलोमिटर खण्डमा त्यसरी ट्र्याक स्तरोन्नति गरेको साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए।




सबै तस्बिरः दुर्गा प्रसाद, सडक डिभिजन भक्तपुर।