काभ्रेमा सोमबार बाढीले बगाएकी महिला अझै फेला पर्न सकेकी छैनन्।
सोमबार ६ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँ नजिकै रहेको ढलमले ठाडो खोलाले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो।
काभ्रेमा सोमबार दिउँसो १ बजेदेखि साँझ पाँच बजेसम्म अविरल वर्षा भएको थियो।
सशस्त्र प्रहरी बल १५ नं. गण काभ्रेका प्रमुख प्रेम प्रसाईंका अनुसार रेणुका खेतबारीमा काम गर्दै थिइन्।
‘बारीमा काम गरिरहनुभएको रहेछ। पानी परिरहेको थियो। बच्चाहरू के गरिरहेका होलान् भन्ने चिन्ता भएर उहाँ बारीबाट हिँड्नुभएको रहेछ,’ प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै एसपी प्रसाईंले भने, ‘पानी परिरहेको छ। अहिले नजानू भनेर अर्की महिलाले भनेकी रहिछ। त्यहीबेला कमसल माटोमा टेक्दा बाढीले बगाएर लगेको रहेछ।’
उनका अनुसार उक्त खोलामा गेग्रानसहितको बाढी आएको थियो।
उनको खुट्टा बाढीमा पर्नेबित्तिकै तानेर लगेको एसपी प्रसाईंले बताए।
घटना भएको आधा घण्टापछि मात्रै प्रहरी र सशस्त्र प्रहरीलाई खबर भएको थियो। त्यसकारण पनि उद्धारमा समस्या भएको उनी बताउँछन्।
‘हामीलाई खबर हुँदा आधा घण्टा जति भइसकेको थियो। खबर भएको पाँच/सात मिनेटभित्रै हाम्रो टोली घटनास्थलमा पुगेर खोजी थालिसकेको थियो,’ उनले भने।
रेणुका मंगलबार मध्याह्नसम्म पनि फेला पर्न सकेकी छैनन्। सशस्त्र प्रहरी बलको टोलीले गएराति ९ बजेसम्म खोजी गरेको थियो।
मंगलबार बिहान ६ बजेदेखि नै उनको खोजी सुरू गरिएको छ।
‘हिजो खोलामा गेग्रानसहितको बाढी आएको थियो। ९ बजेसम्म खोजी गर्दा भेटिएन। आज ६ बजेदेखि नै खोजी गर्न थाल्यौं,’ उनले भने, ‘रोशी/फुर्कोटतिर पुगेको छ कि भनेर पनि खोजी गरिरहेका छौं,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं एसपी कोमल शाहले अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको बताए।
सम्भावित ठाउँहरूमा खोजी गर्ने काम भइरहेको उनले बताए।
‘बगाएर लगेको हुनसक्ने स्थानमा खोजी भइरहेको छ। किनारातिर, कतै गाडिएको, वा कतै फसेको हुनसक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसलाई ध्यानमा राखेर खोजी भइरहेको छ।’
रेणुकालाई बगाएर अन्यत्र लगेको हुनसक्ने भएकाले प्रहरीले मातहत चौकीलाई पत्राचार गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पनि यसबारे पत्राचार गरिएको उनले बताए।
सशस्त्रका एसपी प्रसाईंले रेणुकाको खोजीका लागि खोलाका विभिन्न ठाउँमा जमेका माटोहरू खोतल्ने काम भइरहेको बताए।
‘कतै पुरिएको पो हो कि भनेर शंकास्पद १२/१५ ठाउँ पनि खोतलेर हेर्यौं। तर भेटिएको छैन,’ उनले भने।
यस्तै सोमबारको बाढीबारे छलफल गर्न सुरक्षा समितिको बैठक पनि बस्ने तयारी भइरहेको उनले बताए।
तस्बिरहरू:
-1747118835.jpg)
-1747118834.jpg)
-1747118833.jpg)
-1747118835.jpg)
-1747118833.jpg)
-1747118833.jpg)