नेपाल प्रहरीले आर्थिक तथा वित्तीय अनुसन्धान इकाइ स्थापना गरेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी यस इकाइको प्रमुख रहनेछन्।
हाल सिआइबीमा एसएसपी होबिन्द्र बोगटी छन्। उनको नेतृत्वमा इकाइले गर्ने काम कारबाही सञ्चालन हुनेछन्।
प्रहरी प्रधान कार्यालयले आर्थिक तथा वित्तीय अनुसन्धान ब्युरोको अवधारणा गृह मन्त्रालयमा पेस गरेको छ।
उक्त अवधारणाका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति पनि प्राप्त भएको एसएसपी थापाले बताए।
‘दरबन्दी निकासा नहुञ्जेलको लागि भनेर अहिले सिआइबीको मातहत रहने गरी इकाइ स्थापना भएको हो,’ उनले भने, ‘यसको लागि छिट्टै दरबन्दी निकासा पनि होला, त्यसपछि छुट्टै स्वरूप पनि बन्छ।’
ब्युरो गठन गर्नका लागि कम्तिमा पनि साढे तीन सय प्रहरी कर्मचारी आवश्यक पर्ने प्रहरीको भनाइ छ। यसलाई पनि अन्य ब्युरोहरू जस्तै प्राविधिक रूपमै दक्ष बनाउने योजना रहेको उनले बताए।
यस ब्युरोले आर्थिक तथा वित्तीय पाटोसँग जोडिने अपराधहरूलाई हेर्ने एसएसपी थापाले बताए।
ती पाटोमा पनि गम्भीर र जघन्य प्रकृतिका हुने उनले जानकारी दिए।
‘विशेषगरी संगठित प्रकृतिका, अन्तरदेशीय प्रकृतिका, बैंकिङ ठगीका घटनाहरू, ठूला र जघन्य प्रकृतिका अपराधहरू यसले हेर्नेछ,’ उनले भने, ‘अहिले सिआइबीले नै हेर्दै आएको छ तर सिआइबीको जिम्मेवारी धेरै छ। यसलाई विशिष्टिकृत गर्न खोजिएको हो। वित्तीय अपराध अनुसन्धान गर्ने, क्षमता विकास गर्ने र प्रविधिमैत्री अनुसन्धान गर्ने उद्देश्यले केन्द्रिकृत गर्न खोजेका छौं।’