मोरङको रतुवामाइमा करेन्ट लागेर दुई जना वृद्दाको ज्यान गएको छ।
रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा विवाह समारोहमा माइक बाँधिएको बाँसले हाई टेन्सन लाइनको तारमा छुँदा करेन्ट लागेर दुई वृद्ध महिलाको मृत्यु भएको हो।
स्थानीय नीरज कुमार सिंहको बिबाहमा बाँधिएको माइकको बाँस सोमबार साँझ करिब ८:२० बजे आएको हावाहुरीले ढलेर हाइटेन्सन लाइनमा छोएको थियो।
उक्त घटनामा करेन्ट लागेर ७३ वर्षीया सूर्य देवी गनगाई र ७० वर्षीया रामु देवी गनगाई गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ९:०० बजे दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा ३० वर्षीया राधा कुमारी सिंह पनि घाइते भएकी छन्। उनलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल रंगेली अस्पतालमै राखिएको छ भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।