काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ।
काठमाडौं महानगरपालिका-२४ मखन गल्लीको सुरज आर्केड पछाडि रहेको चार तले कच्ची घरमा बुधबार बिहान ६:५० बजे आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी भएको उक्त घर दयाराम श्रेष्ठको हो।
आगलागीमा परी एक जनाको मृत्यु भएको एसपी बोहराले जानकारी दिए।
'एक जना मृत भेटिनुभएको छ। पहिचान हुन बाँकी छ,' उनले भने।
खाना पकाउने एलपिजी ग्यास लिक भई घरको तेस्रो तल्लाबाट आगो सल्किएको थियो। एसपी बोहराले उक्त घरसँगै रहेको रूकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि आगो सल्किएको बताए।
आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन।
आगो निभाउन प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय खटिएका छन्। आगो निभाउन ६ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।