सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले विपद् स्वयंसेवक तथा विपद सूचकहरूको सञ्जालमार्फत् विपदको पूर्वजानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने बताएका छन्।
स्विट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफर्मको आठौं सत्रलाई सम्बोधन गर्दै उनले विपद सूचकमार्फत् भौगोलिक तथा विपदजन्य अवस्थामा छिटो सूचना प्राप्त हुने बताए। जसले गर्दा विपद् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने हुँदा सशस्त्र प्रहरीले त्यसलाई उच्च प्राथमिकतामा राखेको बताए।
उनले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरी विपद व्यवस्थापनसँग सम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको पनि बताए।
उनले अन्तर निकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान-प्रदान, युवा तथा समुदायलाई अग्रपंक्तिमा राखेर विपद्को सामना गर्न सकिने भएकाले जलवायु परिवर्तनको संवेदनशीलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा संवाद मार्फत विश्व संवादको थालनी गरेको बताए।
सम्बोधनमा उनले नेपाल प्राकृतिक विपदको अग्रपंक्तिमा रहेको हुँदा चुनौतीको सामना गर्न र विपद जोखिम न्यूनीकरण गर्न दृढ प्रतिबद्ध रहेको पनि बताए।
विपदको सामना गर्न एक्लो प्रयासले सम्भव नहुने भएकाले विश्व समुदायको सामूहिक प्रयास अन्तर निकाय समन्वय हुनुपर्नेमा उनको जोड थियो।
आइजिपी अर्यालले अन्तर्राष्ट्रिय सहकार्यका लागि आह्वान समेत गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अर्यालले दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पुरा गर्न एकैसाथ क्रियाशिल हुनुपर्नेमा जोड दिएका थिए। सो कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडी समेत सहभागी थिए।