दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट जोड्ने राप्ती लोकमार्ग सडकखण्ड जेठ २३ देखि असार १ गतेसम्म दिउँसोमा बन्द हुने भएको छ।
जेठ २३ गतेदेखि असार १ गतेसम्म सडक खण्ड बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुने स्थानीय प्रशासनले जानकारी दिएको छ।
सडक खण्डमा मर्मत तथा स्तरोन्नतिको काम चलिरहेको हुँदा निर्माण कम्पनीको आग्रहमा स्थानीय प्रशासनले सडक बन्द गर्ने अनुमति प्रदान गरेको हो।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबाहदुर बुढाले सार्वजनिक सूचनामार्फत् सडक खण्ड बन्द हुनेबारे जानकारी दिएका छन्।
स्थानीय प्रशासनका अनुसार सडकखण्ड दिउँसोमा नौ दिन बन्द हुनेछ।
साथै, साना सवारी साधनलाई वैकल्पिक मार्ग पैंयाखोरिया–सातबास–किमुचौर हुँदै कपुरकोटको यात्रा गर्न सुझाइएको छ।
निर्माण पक्षको आग्रहमा यसअघि पनि स्थानीय प्रशासनले पटक–पटक तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोट सडक खण्ड बन्द गराएको थियो।
निर्माण पक्षले आगामी भदौसम्म सडक मर्मतको काम सक्ने लक्ष्य लिएको छ।
निर्माण पक्षले यातायातका साधन सञ्चालनमा आउँदा काममा बाधा पुग्ने भन्दै सडक बन्द गर्न माग गर्दै आएको छ।
राप्ती लोकमार्ग अन्तरगत दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको कपुरकोट बजारभन्दा केही दक्षिणको ४ किलोमिटर सडक खण्ड मर्मत तथा विस्तारको काम चलिरहेको छ।
सडक खण्ड विस्तार तथा निर्माणका लागि १३ करोड २३ लाखमा सम्झौता भइ काम भइरहेको हो।
सडक निर्माणको जिम्मा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेन्चरले लिएका छन्। २०८० माघ २८ गते सडक निर्माणको सम्झौता भएको थियो। सम्झौतामा आगामी भदौ मसान्तसम्म सडक निर्माणको काम सकिसक्ने उल्लेख छ।