अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनको नेपाल नमूना माध्यामिक विद्यालयका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसहित ६ जना विरूद्ध भष्टाचार मुद्दा दर्ता गरेको छ।
पौडेलसहित ५ जनाले नपाएको ओहदा पाएको भनेर अधिकार दुरूपयोग गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक दिपकचन्द्र शर्मा, सदस्य सचिवसमेत रहेका प्रधानाध्यापक वुद्धिराज सुवेदी र शिक्षक विजया सुवेदीविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको हो। विजया तत्कालीन अध्यक्ष तिलकराजकी छोरी र प्रधानाध्यापक वुद्धिराजकी श्रीमती हुन्।
उनीहरूले २०५५ कात्तिक ८ गते कारर नियुक्ति भएका शिक्षक विजया सुवेदीलाई २०६३ माघ १३ गते प्रावि/माविको कक्षा लिने जिम्मेवारी दिएको पाइएको छ।
साथै २०७२ पुस ४ गते उच्च माविमा करारमा नियुक्ति गरेर २०७८ भदौ ७ गते बैठक बसेर आफूमा नभएको अधिकार प्रयोग गरी शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापक विनियम बनाएका थिए। उक्त विनियम बनाएर शिक्षक सुवेदीलाई तृतीय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराएको देखिएको छ।
शिक्षक सुवेदीलाई २०७८ साउन १ गतेदेखि लागु हुने गरी निम्न माध्यमिक विद्यालय (नि.मा.वि.) तृतीय श्रेणी सरहको सेवा सुविधा उपलब्ध गराउने, सोही मितिबाट स्थायी गरी कर्मचारी सञ्चय कोष कट्टा गर्ने व्यवस्थासमेत मिलाउने निर्णय गरेको अनुसन्धानमा खुलेको छ।
उनलाई विद्यालयका प्रधानाध्यापक वुद्धिराज सुवेदीले नियुक्ति पत्र पदान गरेको प्रमाण भेटिएको आयोगको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा ऐन तथा शिक्षा नियमावलीले सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको स्रोतबाट दायित्व बेहोर्ने गरी शिक्षक तथा कर्मचारी नियुक्ति गर्न नपाउने कानुनी प्रावधान छ।
तर उनीहरूले नियुक्ति हुने शिक्षक/कर्मचारीलाई स्थायी गर्ने, समायोजन गरेर नभएको नपाएको ओहदा पाएको भनी दुरूपयोग गरेकाले भष्टाचारको मुद्दा चलाइएको प्रवक्ता पौडेलले बताए।