वर्षाका कारण खोलामा पानीको बहाब बढेर डाइभर्सनमाथिबाटै बग्न थालेपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ।
बिहीबार बिहान ८:४५ बजे नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा पानीको बहाब बढेर डाइभर्सन माथिबाटै बग्न थालेपछि यातायात अवरूद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार खोला बढेर डाइभर्सनबाटै बगेपछि अहिले दुवैतर्फ सवारी रोकिएका छन्।
साना सवारी साधनहरूलाई होङ्सीगेटबाट सर्दी हुँदै जाने वैकल्पिक सडबाट पठाइएको छ। मालबाहक र ठूला सवारी साधनहरू दुवैतर्फ एक लाइनमा रोकिएको प्रहरीले जनाएको छ।
पानीको बहाब कम भएपछि डाइभर्सनको निरीक्षण पश्चात मात्रै सवारी आवतजावत गराइने प्रहरीले जनाएको छ।
उक्त खोलामा रहेको पुल गत पुसमा भारतीय ट्रक्कको ठक्कर दिँदा भाँचिएको थियो। भाँचिएको पुल बनाउने प्रक्रिया अहिलेसम्म सुरू भएको छैन। यसले बर्खामा थप समस्या हुनसक्ने देखिएको छ।