नेपाली मिडियामाथि प्रहार भएको घटनाबारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) र मानव अधिकार सम्बन्धमा विश्वव्यापी निगरानी गर्ने संस्था ह्युमन राइट्स वाचले चासो देखाएको छ।
दुईवटा अनलाइन नेपालखबर र बिजमान्डुमा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले दिएको आदेश र सोही अदालतले प्रहरीको साइबर ब्युरोको अनुरोधमा पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको सम्बन्धमा ह्युमन राइट्स वाच र महासंघ बोलेको हो।
ह्युमन राइट्स वाचले राजनीतिक घरानाको व्यवसायिक स्वार्थबारे बोल्दा प्रहरीले पक्राउ गर्नुलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भनेको छ।
उसले पाठकविरूद्धको पक्राउ पुर्जी फिर्ता लिन पनि आग्रह गरेको छ। ह्युमन राइट्स वाचले पत्रकार र नागरिकहरूको आवाज बन्द गर्ने प्रयत्न तत्काल रोक्न आग्रह गरेको छ।
आइएफजेले पनि आलोचनात्मक पत्रकारिता अदालतको निशानामा परेको बताएको छ। आइएफजेले पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको र दुई अनलाइनमा प्रकाशित समाचार हटाउन अदालतले दिएको आदेशबारे भर्त्सना जनाएको छ।
उसले भ्रष्टाचारका मुद्दाहरूमा रिपोर्टिङ गर्ने मिडिया आउटलेटहरू र पत्रकारहरूलाई लक्षित गर्ने काठमाडौं जिल्ला अदालतको कदम लोकतान्त्रिक सिद्धान्तहरू र नेपालमा संवैधानिक रूपमा स्थापित प्रेस स्वतन्त्रताको अधिकारको पूर्ण रूपमा विपरीत रहेको बताएको छ।
'आइएफजे नेपाल खबर, बिजमाण्डु र दिल भूषण पाठक विरुद्धका सबै मुद्दाहरू खारेज गर्न र स्वतन्त्र र आलोचनात्मक रिपोर्टिङको अधिकारको रक्षा गर्न आह्वान गर्दछ,' महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर र हिल्टन होटलको विषयमा पत्रकार पाठकले आफ्नो युट्युब च्यानलमार्फत एक भिडिओ रिपोर्ट प्रसारण गरेका थिए।
सोही विषयमा उनीमाथि साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। भिडिओ रिपोर्ट प्रसारण गरेकै आधारमा पाठकमाथि विद्युतीय कारोबार ऐनजस्तो फरक उद्धेश्यले निर्माण भएको कानुन प्रयोग गरेर पक्राउ पुर्जी जारी भएपछि नेपालमा पनि यसको विरोध भइरहेको छ।
यद्यपि उच्च अदालतले पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिइसकेको छ। गत सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले उनलाई तत्काल पक्राउ नगर्नू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बिहीबार (आज) उपस्थित हुन भनेको छ।