अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सवारी साधन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार ९ जनाविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
ठाकुरसहित परिषद लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह, सवारी चालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव, कोषाध्यक्ष बबितादेवी साह, ठेकेदार जितेन्द्र कुमार यादव र बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुरविरूद्ध मुद्दा दर्ता भएको छ।
२०७५ मंसिर ५ देखि २०७९ सालसम्मको कार्य अवधिमा कार्यकारी निर्देशक (तत्कालीन) ठाकुरले अन्य प्रतिवादीसँग मिलेर निजी प्रयोग-प्रचलनका लागि गाडी खरिद गरेको र एक वर्षपछि श्रीमतीको नाममा नामसारी गरी सरकारी कोषबाट रकम लिएको अख्तियारको आरोप छ।
इन्दुलेखाको नाममा भएको गाडी मुकेश यादवसँग सम्झौतामा लिएको देखाइएको अख्तियारको आरोप छ।
सो गाडी सम्झौतामा लिएको देखाएर भुक्तानीका लागि पटकपटक रकम लिएर सरकारी रकम हानिनोक्सानी गरी दुरूपयोग गरेको आरोप ठाकुरविरूद्ध छ।
अख्तियारले बलराम ठाकुरमाथि ५१ लाख ७१ हजार रूपैयाँ बिगो माग गरेको छ। त्यस्तै सावित्री गिरीसँग ३० लाख ७२ हजार ८४४ रूपैयाँ, चिरञ्जीवीराज शर्मा ढुंगानासँग १ लाख १ हजार ८७६ रूपैयाँ, कम्युटर अधिकृत कृष्णमुरारी सिंहसँग १४ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ।
आरोपितहरूमाथि अख्तियारले फरक फरक बिगो माग गरेको हो।