कपिलवस्तुमा धान रोप्न जाँदै गरेका दुई महिलाको सोमबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार मृतक दुवै जना कपिलवस्तु नगरपालिका–८ का हुन्।
दुर्घटनामा परी स्थानीय २२ र ४५ वर्षीया महिलाको मृत्यु भएको डिएसपी अधिकारीले बताए।
उनीहरू दुबै जना कोरी समुदायका रहेको खुले पनि सनाखत भइनसकेको डिएसपी अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार यो दुर्घटना सोमबार बिहान साढे ११ बजेतिर हो।
ट्र्याक्टरमा धानको बिउ बोकेर रोपाइँ गर्न जाँदै गरेकाहरू दुर्घटनामा परेका थिए।
हालसालै निर्माण गरिएको बाटोमा रातभरको वर्षाले माटो पूरै भिजेको थियो। त्यही बाटोमा गुडिरहेको ट्र्याक्टर चिप्लिएर पोखरीमा खसेपछि दुई महिला डुब्न पुगेका थिए। अचेत अवस्थाका उनीहरूलाई उद्धार गरी कपिलवस्तु जिल्ला अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ट्र्याक्टरमा चालकसहित ६ जना सवार थिए। अर्का एक पुरूष सामान्य घाइते छन्। चालक भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।