सडक निर्माण क्रममा खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
सर्लाहीको हरिपुर नगरपालिका-१ जानकी नगरका दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो।
उनलाई गएराति ११:३५ बजे घरबाट अन्दाजी ५०० मिटर दक्षिणतर्फ सडक निर्माण क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा मृत भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार बालक बिहान १० बजे घरबाट हराएका थिए।
गएराति नै प्रहरी घटनास्थल पुगेर बालकको शव पोस्टमर्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए।