सिरियाको हिंसामा झन्डै ६०० जनाको रिपोर्ट सार्वजनिक भएको छ।
सिरियाको दक्षिणी प्रान्त सुवेइदामा आइतबारदेखि सुरू भएको हिंसामा ५९४ जनाको मृत्यु भएको बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले देखाएको बिबिसीले जनाएको छ।
सुवेइदामा ड्रुज समुदाय र बेदुइन समुदायबीचको झगडाबाट सुरू भएको भनेर बिबिसीले जनाएको छ।
त्यसपछि सिरियाली सेनाले ड्रुज समुदायमाथि आक्रमण गरेको थियो।
हिंसामा परी तीन सय जना ड्रुज समुदायका मानिसहरू मारिएका छन्। जसमा १४६ जना ड्रुज लडाकु र १५४ जना सर्वसाधारणको मृत्यु भएको एसओएचआरको रिपोर्टमा उल्लेख छ। त्यसमध्ये ८३ जना सिरियाको सरकारी सेनाले मारेको भनिएको छ।
त्यस्तै हिंसामा २५७ जना सरकारी सुरक्षाकर्मी र १८ जना बेदुइन लडाकूहरू मारिएको रिपोर्टमा उल्लेख रहेको बिबिसीले जनाएको छ। तीन जना बेदुईन सर्वसाधारणलाई ड्रुज लडाकूहरूको हत्या गरिएको भनिएको छ।
सुवेइदामा ड्रुज अल्पसंख्यकमाथि दमन गरेको भनेर इसराइलले सिरियामा हमला गरेको थियो। इसराइलले सिरियाको रक्षा मन्त्रालय र धेरै सरकारी भवनहरूलाई लक्ष्य गरेर हवाई हमला गरेको थियो।
ड्रुज अल्पसंख्यकहरू इसराइलको गोलन हाइट्समा पनि बस्छन्। सुवेइदामा हिंसा भड्किएपछि गोलन हाइट्सबाट पनि ड्रुजहरू सिरिया पुगेका थिए। त्यसपछि ड्रुजहरुको रक्षाका निम्ति भनेर इसराइलले सिरियामा हमला गरेको दाबी गरेको थियो।
इसराइली हमलाबाट १५ जना सिरियाली सैनिकको मृत्यु भएको पनि एसओएचआरको रिपोर्टमा उल्लेख छ।