नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं वडा नम्बर १० बस्ने ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको एसपी युवराज खड्काले जानकारी दिए।
उनका अनुसार खड्का टोखा नगरपालिका-४ भेटघाट चोकमा कोठा डेरामा लिएर काम गर्थे। सिआइबीले उनलाई असार ३१ गते पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर उनको मोबाइल हेर्दा कीर्तेको काम गर्ने गरेको खुलेपछि प्रहरी उनले काम गर्ने ठाउँ टोखामा पुगेको थियो।
पक्राउ परेका खड्का झापाको धरमपुरका हुन्। उनी काम गर्न भनेर २०५७ सालमै काठमाडौं आएका थिए।
सुरूमा काठमाडौंका विभिन्न ठाउँमा उनले नम्बर प्लेटको पेन्ट गर्ने लगायत काम गरे। पेन्टिङकै सिलसिलामा उनले काम सिकेपछि २०६३ सालमा आफ्नै काम सुरू गरे। महाराजन्गमा एउटा पसल थापेर उनले स्ट्याम्प, प्रिन्टिङको काम थालेका थिए।
उनले थालेको काम पछि कोभिडमा रोकियो।
‘काम सुरू त गरेको थिएँ। तर राम्ररी चलेन। पछि कोभिड पनि भएपछि काम ठप्प नै भयो,’ उनको भनाइ उदृत गर्दै सिआइबीका एक प्रहरीले भने।
कोभिडको समयमा घर खर्च जोहो गर्न समस्या भए पनि विभिन्न गरगहना बेचेको पनि उनले बताएका छन्। पछिल्लो दुई वर्ष यता भने उनले आफ्नो व्यवसाय फेरि सुरू गरेको प्रहरीले जनाएको छ।
उनले एउटा कोठा भाडामा लिएर एक्लैले रबर स्ट्याम्प, नक्कली कागजात, विभिन्न सरकारी कागजात बनाउने गरेको बताएका छन्।
यसरी नक्कली कागजात बनाएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनीबाट त्रिभुवन विश्वविद्यालयबाट जारी हुने कागजात, राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभिटीलगायत संस्थाका हुबहु देखिने कागजातहरू बरामद भएको जनाएको छ।
यसो त प्रहरीले काठमाडौं जिल्ला अदालत, राजनीतिक दल, प्रहरी कार्यालयकै छाप पनि बरामद गरेको छ।
यसरी कागजात तथा रबर स्ट्याम्प बनाएबापत उनले पाँच सयदेखि हजार रुपैयाँ लिने गरेका थिए।
‘विदेश जान खोज्नेहरू उनका ग्राहक हुने हुन्। समस्या परेर आएकाहरूलाई चाहि बनाइदिन्छु भनेर भनेका छन्। आफूले कागजात बनाइदिए विदेश जानेहरूको राम्रै हुन्छ भनेर बनाउने गरेको भन्छन्,’ सिआइबीका ती प्रहरीले भने, ‘कागजात बनाउँदा उनीहरूले तलब पनि बढी पाउने भन्ने थाहा पाएर बनाएको भन्छन्।’
उनीबाट प्रहरीले दुई वटा प्रिन्टर, एउटा सिपियु, एउटा स्क्यानर, रबर बनाउने मेसिन र मोबाइल एउटा बरामद गरेको छ।
यसैगरी उनले विदेश जान चाहिने बैंकिङ कारोबारका कागजातहरू पनि बनाउने गरेको पाइएको छ।
‘विभिन्न डकुमेन्टहरू हुबहु नै कार्यालयमा बनाउने रहेछ। यसरी उनले ह्वाटसएप तथा भाइबरमा सामाजिक सञ्जालमार्फत अर्डर लिने रहेछन्,’ एसपी खड्काले भने, ‘उनीमाथि म्याद थेर थप अनुसन्धान भइरहेको छ।’
सिआइबीले उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।