सशस्त्र प्रहरी बलले चितवनको सिमलताल र धादिङको चरौँदीमा विपदको सूचनाका लागि इलेक्ट्रिक डिभाइस जडान गरेको छ।
कुनै पनि विपदका घटनाबारे तत्काल सूचना प्राप्त गर्नका लागि डिभाइस जडान गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उक्त डिभाइस भरतपुर महानगरपालिका-२९ स्थित सिमलताल र धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौँदीमा जडान गरिएको छ।
बढी दुर्घटना हुनसक्ने स्थान छनौट गरी सशस्त्र र लुना जिपिएस कम्पनीको सहकार्यमा उक्त डिभाइस राखिएको हो।
कुनै पनि विपदका घटना भएपछि डिभाइसमा रहेको हरियो बटनमा १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ।
बटन थचेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्नेछ।
त्यस्तै तालिम केन्द्रमा रहेको मोनिटरमा लोकेशनसहितको जानकारी समेत हेर्न सकिने र त्यसअनुसार नै फौज परिचालन हुने डिएसपी थापाले बताए।
स्थानीयहरूलाई उक्त मेसिनको प्रयोगको जानकारी समेत दिइसकेको छ।
एपमार्फत पनि विपदका जानकारी गराउन सकिने
नारायणघाटदेखि नागढुंगा सम्मका स्थानीय तथा सो क्षेत्रमा विपदमा परेका र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जिपिएसको एप डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन्।
एपभित्र रहेको एसओएस (SOS) बटनमा क्लिक गर्दा त्यसभित्र रहेको चारवटा अप्सन एम्बुलेन्स, बाढी पहिरो, आगलागी र दुर्घटनाका अप्सनहरू देखिने छ।
त्यसमा घटनाअनुसार क्लिक गरेपछि त्यसको सूचना विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने डिएसपी थापाले बताए। सो एपलाई डाउनलोड गरी अफलाइनमा समेत जानकारी गराउन सकिनेछ।