झापा गाउँपालिका–१, लसुनामा मादक पदार्थ सेवन गरेर काम्न थालेका एक वृद्धलाई छिमेकीहरूले आँपको रूखमा बाँधेर राखेको अवस्थामा उनी मृत फेला परेका छन्।
झापा प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति साढे १० बजेतिर ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरेर छिमेकी महादेव टुडुको घर नजिकको गल्लीमा काम्न थालेका थिए। त्यसपछि महादेव र केही स्थानीय व्यक्तिले मिलेर उनलाई नजिकैको आँपको रूखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए।
मङ्गलबार बिहान ४ बजेतिर हेर्दा सोरेन मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षका लुखीराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको छ।