धादिङको जरे खेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।
गजुरी गाउँपालिका-६ जरेखेत नजिक पहिरो खसेर दुई तर्फी सडक अवरूद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।
त्यस ठाउँमा दुई पटक पहिरो खसेको छ।
शुक्रबार बिहान सवा ३ बजेतिर एक पटक पहिरो खसेको थियो। डोजरले बिहान ४ बजेतिर उक्त पहिरो पन्छ्याउन सुरू गरेको थियो।
६ बजेतिर फेरि रूखसहित पहिरो खसेर सडक अवरूद्ध भएको भएको थियो।
त्यस्तै अर्को थाक्रे गाउँपालिका-७ सातकिलोमा पनि पहिरो खसेको हो।
पहिरो गएपछि ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सवारीसाधन होल्ड गरेको छ।
एसपी सुवेदीका अनुसार साना र ठूला सवारीसाधन कुल ७८० वटा रोकिएका छन्।
गजुरीमा एक सय, खानीखोलामा एक सय, खत्रीपौवामा ५०, आदमघाटमा २५०, मल्खुमा ८० र विशालटारमा २०० वटा गाडी रोकिएका छन्।
‘बेलाबेलामा पहिरो झरिरहने भएकाले हामीले जोखिम देखेर रोकेका छौं। एम्बुलेन्स जस्ता आपतकालीन सेवाका गाडीहरू रोकिएका छैनन्। साना गाडीहरू कतिपय डाइभर्सनमार्फत पनि पठाएका छौं। खुलाउने प्रयास भइरहेको छ,’ एसपी सुवेदीले भने।
उनका अनुसार पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका १० वटा ठाउँमा जोखिम छ। जोखिम रहेका ठाउँमा ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी परिचालन भएका छन्।
‘सवारीलाई जोखिम हुने देख्न वित्तिकै सवारीलाई रोकेर हेर्छौं। जोखिम टरेपछि मात्रै सडक खुलाउने रणनीति छ,’ एसपी सुवेदीले भने।