भारतको उत्तराखण्डमा गत मंगलबार भीषण बाढीपछि सम्पर्कबिहीन भएका धादिङका चार जना परिवारको सम्पर्कमा आएका छन्।
धादिङको ज्वालामुखी गाउँपालिक-२ काफलपानीका ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ परिवारको सम्पर्कमा आएको स्थानीय समेत रहेका वडा सदस्य धनबहादुर तामाङले जानकारी दिए।
'उहाँका परिवारले चारै जना सम्पर्कमा आएको भन्ने जानकारी गराउनुभएको छ,' वडा सदस्य तामाङले सेतोपाटीसँग भने।
सोही वडामा रहेको प्रहरी चौकी मैदीले पनि सम्पर्कविहीन भएकाहरू परिवारको सम्पर्कमा आएको पुष्टी गरेको छ।
'आजै सम्पर्कमा आएको भन्ने बुझियो। सम्पर्कविहीन भएकाहरूको परिवारका सदस्यले पनि पुष्टि गर्नुभएको छ,' प्रहरी चौकीका इन्चार्ज सई उपेन्द्र यादवले सेतोपाटीसँग भने।
उनीहरू उत्तराखण्डको बाढीग्रस्त धराली बजारमै काम गर्थे।
बाढी गएपछि उनीहरू त्यहाँबाट भागेर अन्यत्र गएका थिए।
नेटवर्कको समस्याका कारण बाढी गएको दिनदेखि उनीहरूले परिवारसँग सम्पर्क गर्न नसकेको भनेका छन्।
'पछि उहाँहरू त्यहाँबाट नजिकैको सेनाको ब्यारेकमा पुगेपछि मात्रै सम्पर्कमा आउनुभएको रहेछ,' सई यादवले भने।
उनीहरूले सकुशल छौं भनेर परिवारलाई जानकारी गराएको पनि सई यादवले जानकारी दिएका छन्।