राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट सम्बन्धी कसुरमा दुई जनाविरूद्ध जिल्ला अदालत रूपन्देहीमा अभियोग पत्र दर्ता गरेको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ का रामबहादुर विक र भारतको पन्जाबस्थित अमृत सहर निवासी कुल दीप सिंहले भन्सार प्रज्ञापन तथा आवश्यक कागजातबिनै भन्सार चोरी गरी सुनका गरगहनाहरूको कारोबार गरेको भन्दै कार्यालयले उनीहरूविरूद्ध मुद्दा दर्ता गरेको हो।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले उनीहरूमाथि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
घिमिरेका अनुसार आरोपित कुल दीप सिंह र रामबहादुर विकले भन्सार प्रज्ञापन तथा आवश्यक कागजातबिनै ६१ तोला सुनका गरगहना भन्सार छली तथा राजस्व चुहावट गरी कारोबार गरेका थिए। उनीहरूविरूद्ध सजाय र जरिवाना स्वरूप दुई करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता गरिएको हो।
प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार सिंहले भन्सार छली गरी एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ ३० पैसा बराबरका सुनका गरगहनाको कारोबार गरेका थिए।
अदालतमा दायर गरिएको अभियोग पत्रमा मुख्य अभियुक्त सिंहलाई बरामद गरिएका सुनका सबै गरगहना जफत गरी सो बराबरको एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ तीस पैसा जरिवाना रकम र कैद सजायको माग गरिएको छ।
त्यस्तै, उक्त कार्यमा सहभागी रहेर मतियारको भूमिका खेलेका रामबहादुर विकलाई ऐनको दफा २३ को उपदफा ३ अनुसार आधा सजाय माग गरिएको छ। विकलाई ५२ लाख ५४ हजार २०६ रुपैयाँ जरिवाना कायम गरिएको छ।
दुवै प्रतिवादीमाथि माग गरिएको कुल जरिवाना तथा सजाय रकम दुई करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ पुगेको घिमिरेले बताए।
प्रमुख अनुसन्धान अधिकृत घिमिरेले देशभित्र भन्सार चोरी तथा राजस्व छल्ने गतिविधिविरूद्ध जारी अभियान अन्तर्गत यो मुद्दा महत्त्वपूर्ण सफलता भएको दाबी गरे।
राजस्व प्रणालीमा विश्वास कायम राख्न र आर्थिक अनुशासन सुनिश्चित गर्न यस्ता कार्यमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन मुद्दा दायर गरिएको उनले बताए।
सिंह र विक दुवैविरूद्ध सोमबार जिल्ला अदालत रूपन्देहीमा अभियोग पत्र दायर गरिएको हो।