२०५४ सालदेखिका ६ संस्करणका राष्ट्रिय खेलकुद, अनि ती सबै प्रतियोगितामा स्वर्ण पदक।
तारादेवी पुनको पहिचान अब यसरी हुनेछ।
१६ वर्षको उमेरदेखि राष्ट्रिय खेलकुद खेल्न थालेकी तारादेवी पुनले मंगलबार पोखरामा आफ्नो छैठौं राष्ट्रिय खेलकुद खेलिन्।
सबैको अपेक्षाअनुसार नै ताराले भारोत्तोलनको महिला ८१ केजी तौल समूहमा स्वर्ण जितेर नेपाली खेलकुदमा सुनौलो अक्षरले नाम लेखाइन्।
यसअघि ताराले २०५४ सालमा १६ वर्ष उमेरमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा भलिबलबाट स्वर्ण जितेकी थिइन्। त्यति बेला उनले पश्चिमाञ्चलको भलिबल टिमबाट खेलेकी थिइन्। त्यसपछि भने उनी भारोत्तोलनमा प्रवेश गरेकी थिइन्।
उनले २०६५ सालमा काठमाडौंमा भएको पाँचौं, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेर कीर्तिमान बनाइकी थिइन्।
मंगलबार पोखराको उद्योग वाणिज्य संघको हलमा ताराले ऐतिहासिक स्वर्ण जित्ने क्रममा तीन वटा राष्ट्रिय कीर्तिमान समेत आफ्नो नाममा लेखाउन सफल भइन्।
उनले क्लिन एन्ड जर्कमा १०२ केजी भार बाहन गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्। यस्तै ताराले स्न्याचमा ७० केजी उचालेर अर्को राष्ट्रिय कीर्तिमान बनाइन्। कुल १७२ केजीका साथ उनले तेस्रो कीर्तिमान बनाइन्।
यसअघि तीन वटै कीर्तिमान लक्ष्मी वनको नाममा थियो। उनले १३ औं सागमा स्न्याचमा ६९ केजी, क्लिन एन्ड जर्कमा ८७ केजी र कुलमा १५६ केजी उठाउदै कीर्तिमान बनाएकी थिइन्। तर ताराले कीर्तिमानभन्दा १६ केजी बढी उठाएर कीर्तिमान बनाउन सफल भइन्।
यो स्पर्धामा एपिएफकी अन्जली श्रेष्ठले रजत र सुदूरपश्चिमकी चम्पाकुमारी ठकुन्नाले कास्य जिते।
तीन स्वर्णसहित स्वर्ण जिते पनि उनी आफ्नो प्रदर्शनमा भने अझै सन्तुष्ट छैनन्।
'स्वर्ण जितेकोमा खुसी नै छु। तर मैले भनेको जस्तो प्रदर्शन सकिनँ। सक्दो राम्रो गरेर अझै धेरै भार उठाउने लक्ष्य थियो, जतिका लागि तयारी गरेको थिएँ त्यति भार उठाउन सकिनँ,' उनले भनिन्।
६ संस्करणको राष्ट्रिय प्रतियोगितामा भाग लिएर सबैमा स्वर्ण जित्न सफल भएकामा उनी 'एक्स्ट्रा' खुसी भने छिन्।
'६ वटा राष्ट्रिय खेलेर स्वर्ण जितेकोमा एक्स्ट्रा खुसी छु। यहाँसम्म आउन मैले मेहनत गरेको थिएँ। यतिसम्म गर्न सक्छु भन्ने थियो,' उनले थपिन्, '६ वटा राष्ट्रिय खेलकुदमा भाग लिएर स्वर्ण जित्न २५ वर्षको मेहनत र धेरै त्याग छ।'
उनले मंगलबार गरेको प्रदर्शन दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण नजिक छ। त्यसैल अब उनको अन्तिम इच्छा सागमा स्वर्ण जित्ने छ।
'अब मेरो अन्तिम इच्छा साग नै हो,' ताराले भनिन्।
उमेरले ४० छुन लाग्दा तारा अझै संन्यास लिने सोचमा भने छैनन्।
उनले भनिन्, 'अहिले नै संन्यास लिन्छु भनेर सोचेको छैन। शरीरले साथ दिएसम्म खेल्छु।'
म्याग्दीमा जन्मिएकी तारा सुरूमा भलिबल खेलाडी थिइन्। २०५४ को चौथो राष्ट्रिय खेलकुदमा उनी पश्चिमाञ्चलको टिममा थिइन्। पश्चिमाञ्चलको भलिबल टिमबाट स्वर्ण जितेकी ताराले धेरै समय भलिबल खेलिनन्। २०५६ मा भलिबल छाडेर भारोत्तोलन खेल्न थालिन्।
भारोत्तोलनमा लागेपछि ताराको सफलताको ग्राफ माथि उक्लिरह्यो, कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
आफूले भाग लिएका राष्ट्रिय प्रतियोगितामा सधैं स्वर्ण जितिन्। उनी दुई दशकदेखि नेपालकै 'बलियी' (स्ट्रंगेस्ट) महिला खेलाडीका रूपमा चिनिन्छन्।
दुई दशक नेपाली भारोत्तोलनमा राज गरेकी ताराको बाल्यकाल भने दुःखैदुःखमा बितेको थियो। त्यही दुःख उनको खेल जीवनमा वरदान साबित भयो।
उनको घर थिएन। गोठमै जन्मिइन्, गोठमै हुर्किइन्। तारा काम गर्न सक्ने भएपछि उनका बुबाले घर बनाउन थाले। कामदार लगाएर घर बनाउने स्थिति थिएन। उनका दाजुहरूसँगै उनले घर बनाउन चाहिने काठ र ढुंगा बोक्थिन्।
ठूल्ठूला ढुंगा पिठ्यूँमा बोकेको अझै याद छ तारालाई। बाल्यकालदेखि नै बलियी र मोटीघाटी तारा गाउँकै ठूलो भारी घाँस ल्याउने केटीमा पर्थिन्।
कुखुराले जहाँ अण्डा पार्यो, त्यहीँबाट झिकेर खाइदिन्थिन्। दुहुँदै गरेको दूध पिउँथिन्।
उनी खेलकुदमा त्यस्तै थिइन्। कबड्डी खेल्दा विपक्षीका एक हुल नै सोहोरेर ल्याउँथिन्। गाउँकी राम्रो भलिबल खेलाडीमा पर्थिन्। गाउँमा खेलेको भलिबलले उनलाई पश्चिमाञ्चलको टिममा पर्न काफी भयो। २०५४ सालमा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै चौथो राष्ट्रिय खेलकुदमा भाग लिन नेपालगञ्ज पुगिन्।
दुई दशकअघिको नेपालगञ्ज सम्झना उनको दिमागमा तिरमिर मात्र बाँकी छ।
नेपालगञ्जको चौथो राष्ट्रिय खेलकुद उनलाई अहिले सपना जस्तै लाग्छ। चौथो राष्ट्रिय खेलकुद खेलेर फर्किएपछि उनको भेट तेक्वान्दोकी ओलम्पियन प्रमिला थापासँग भयो। प्रमिलाले तारालाई देख्नेबित्तिकै भारोत्तोलन खेल्न सुझाव दिइन्।
देख्दा मोटोघाटो भएर होला, प्रमिलाले तारालाई भारोत्तोलन खेल्न सुझाव दिइन्। तर उनई भारोत्तोलन कस्तो खेल हो, कसरी खेलिन्छ, केही थाहा थिएन।
भारोत्तोलन खेलाडी बन्ने सपना बोकेर उनी २०५८ साल पुसमा पहिलो पटक काठमाडौं आइन्। तत्कालीन प्रशिक्षक सुनीललाल जोशी भेट्न त्रिपुरेश्वर पुगिन्। लगातार चार दिन त्रिपुरेश्वर धाउँदा पनि जोशीलाई भेट्न सकिनन्।
उनी बिहानै त्रिपुरेश्वर पुग्थिन्, तर सुनील दिउँसो आउदा रहेछन्। पाँचौं दिन बल्ल सुनीलसँग भेट भयो। उनले मिठु गुप्ता गुरुसँग भेट गराइदिए।
भारोत्तोलन खेल्न आएको भनेपछि मिठु गुरुले पत्याएनन्। दोहोर्याइ तेहेर्याइ 'पक्का खेल्छौ नि' भनेर प्रश्न गररहे। उनले 'खेल्न सक्छु गुरु' मात्र भनिरहिन्।
त्यति बेलासम्म भारोत्तोलनमा महिला खेलाडीको उपस्थिति न्यून थियो। अझ गाउँबाट झरेकी र भारोत्तोलनबारे जानकारी नभएकी किशोरीको कुरा पत्याइहाल्ने स्थिति थिएन।
मिठुले तारालाई अर्का प्रशिक्षक राजेन्द्र प्रधानसँग सिक्न पठाइदिए। प्रधानले पनि सुरूमा पत्याएनन्।
भारोत्तोलनको प्रशिक्षण ५ केजीको रड उचालेर सुरू हुन्छ। तर तारालाई त्यति बेला एकैपटक २० केजी उचाल्न भने राजेन्द्रले। आत्मविश्वास भएकाले सिधै उचालिदिइन्। त्यसपछि उनलाई पनि विश्वास भयो। २०५८ पुस २३ को त्यो मिति अझै छ तारालाई।
पुसमा भारोत्तोलन सिक्न थालेकी तारा चैतमा वीरगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा भाग लिन पुगिन्। प्रतिस्पर्धा स्थल पुगेपछि उनको नजरमा एउटा ट्रफी पर्यो।
'तिमी प्रतियोगिताको स्ट्रंगेस्ट खेलाडी भयौ भने त्यो ट्रफी पाउँछ्यौ,' उनलाई प्रशिक्षकले भनेका थिए।
भर्खर भारोत्तोलनमा लागेकी उनलाई ट्रफी जित्ने इच्छा त थियो, विश्वास भने थिएन। विश्वासलाई इच्छाले जितिदियो। उनी प्रतियोगिताको स्ट्रंगेस्ट खेलाडी घोषित भइन्।
त्यो राम्रो ट्रफीसहित खाममा राखेर ५ हजार पुरस्कार पाएपछि औधि खुसी भइन् तारा। त्यसअघि सामूहिक खेलमा मात्र जितेकी थिइन्। वीरगञ्जमा विजयी भएपछि एकल खेल जितको स्वाद फरक भएको महशुस गरिन्। आफ्नै मेहनतले जितेको हुँ भन्ने भावना आयो।
स्वर्णको स्वाद चाखेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। भाग लिएका सबै राष्ट्रिय प्रतियोगिता जितिन्। प्रशिक्षक र मेहनत, लगनशीलता र इच्छाशक्तिले सफलता प्राप्त गरेको उनको भनाइ छ।
उनले आठ वर्षअघि दक्षिण कोरिया र चार वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा भाग लिइन्। दुवै प्रतियोगितामा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन्। इन्चोनमा एउटा राष्ट्रिय कीर्तिमान बनाएकी उनले जाकर्तामा ३ वटा कीर्तिमान कायम गरिन्।
६ वर्षअघि भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा कास्य जित्नु उनले अन्तर्राष्ट्रिय स्तरमा जितेको महत्वपूर्ण पदक हो।
२०७६ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि उनले पदक जित्न सफल भइन्। उनको लक्ष्य स्वर्ण थियो तर कास्यमा चित्त बुझाउन बाध्य भइन्। महिलातर्फ ७६ केजी तौल समूहमा ताराका लागि भारत, बंगलादेश र श्रीलंका बाधक बनेका थिए।