जुम्ला–रारा अल्ट्रा म्याराथन आइतबारदेखि शुरु भएको छ । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरबाट सो दौड शुरु भएको हो ।
कर्णालीमा खेल पर्यटनको विकास गर्न म्याराथन आयोजना गरिएको आयोजक कर्णाली खेलकूद क्लब, जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
म्याराथनमा भोजपुर, बुटवल, पोखरा, गोरखा, काठमाडौँ, भक्तपुर र रुकुमपूर्वका खेलाडी सहभागी छन् ।
यस्तै त्रिभुवन आर्मी क्लबका साथै भारत, अमेरिका र बेलायतका खेलाडीसमेत म्याराथनमा भाग लिन जुम्ला पुगेका छन् ।
प्रतियोगितामा सहभागी ६३ खेलाडी मुगुको राराताल किनारसम्म पुग्ने कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिए ।
म्याराथनले संसारका खेलाडीको ध्यान आकर्षित गर्ने उनको भनाइ छ । म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष धावकले कास्कीको अन्नपूर्णमा आयोजना हुन लागेको ‘गोल्डेन वल्र्ड ट्रेल सिरिज’मा सहभागी हुनेछन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र ३० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट १० स्थान हासिल गर्नेले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा विश्व साइकलयात्री पुष्कर शाहसमेत सहभागी छन् ।
आजै सम्पन्न एक किलोमिटर दौडमा पुरुषतर्फ नारायण रावत प्रथम, लक्ष्मण जिसी द्वितीय र नरेश बुढा तृतीय भए । महिलातर्फ निरु रावत प्रथम, मञ्जिता ऐडी द्धितीय र अस्मी भण्डारी तृतीय भए ।
यस्तै पाँच किलोमिटर दौडमा पुरुषतर्फ नारायणकुमार कुशवाह प्रथम, विकास बुढा द्वितीय तथा कविन्द्र बुढा तृतीय भए । महिलातर्फ हिमाली शाही प्रथम, निशा पाण्डे द्वितीय र यन्जम लामा तृतीय भए ।