सेयर बजार विश्लेषण
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) मा वाणिज्य बैंकहरूको कुल नाफा १८ प्रतिशतसम्म घटेको वित्तीय विवरणहरू सार्वजनिक भएको छ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा १३ अर्ब १४ करोड रूपैयाँमा सीमित भएको छ। यसअघि यी बैंकहरूको नाफा १६ अर्ब १२ करोड रूपैयाँ थियो।
योसँगै सेयर बजारमा बैंक समूह आइतबार १.२९ प्रतिशतले घटेर बजार बन्द हुँदा १३४६ विन्दुमा आयो। बैंकहरूको सेयर मूल्य घटेकै कारण बैंकिङ समूह घटेका हुन्।
तैपनि आइतबार बजारमा कारोबारमा आएकामध्ये सबभन्दा धेरै रकमको कारोबार हुने समूहको दोस्रो स्थानमा समेत यही समूह रह्यो।
कुल चार अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार हुँदा बैंकिङ समूहको मात्रै ३८ करोड रूपैयाँको सेयर कारोबार भयो।
पहिलोमा जलविद्युत समूहका कम्पनीहरूको एक अर्ब ९३ करोड रूपैयाँको सेयर कारोबार भएको छ।
बजारमा सेयर हिस्सा नै धेरै रहेकाले पनि वाणिज्य बैंकहरूको धेरै रकमको सेयर कारोबार हुन्छ।
कुन बैंकको सेयर कारोबार सक्रिय रूपमा भइरहेको छ?
यसलाई हेर्ने एउटा आधार हो, सेयर कारोबार अनुपात।
बजारमा कुनै कम्पनीको सेयर किनबेच गर्न कत्तिको सजिलो वा गाह्रो छ भन्ने यो अनुपातले संकेत गर्छ। कुनै निश्चित अवधिमा कारोबार भएको कुनै कम्पनीको सेयर संख्यालाई बजारमा कारोबार गर्न पाइने सेयर संख्याले भाग गरेर निकालिन्छ।
उदाहरणका लागि— आइतबार सेयर कारोबार भएका वाणिज्य बैंकहरूमा कृषि विकास बैंकलाई लिन सकिन्छ।
सेयर बजारमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये आइतबार कृषि विकास बैंकको यस्तो अनुपात सबभन्दा धेरै छ। बैंकको यस्तो अनुपात ०.१७ प्रतिशत छ।
सर्वसाधारणसँग बैंकको १३ करोड ८५ लाख कित्ताभन्दा केही बढी सेयर छ। आइतबारने सर्वसाधारणसँग रहेको बैंकको एक लाख २१ हजार कित्ता सेयर मात्रै कारोबारमा आयो।
सर्वसाधारणसँग रहेको बैंकको सेयरको तुलनामा आइतबार कारोबारमा आएको बैंकको सेयर संख्या ०.१७ प्रतिशत छ।
आइतबारको कारोबारको आधारमा सानिमा बैंकको यस्तो अनुपात ०.१६ प्रतिशत, लक्ष्मी बैंकको ०.११ प्रतिशत, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकको ०.१० प्रतिशत छ।
सर्वसाधारणसँग सानिमा बैंकको ६ करोड ६५ लाख कित्ताभन्दा केही बढी सेयर छ। आइतबार भने सर्वसाधारणसँग रहेको यस बैंकको एक लाख आठ हजार कित्ता सेयर मात्रै कारोबारमा आयो।
सर्वसाधारणसँग लक्ष्मी सनराइज बैंकको ११ करोड ९१ लाख कित्ता सेयर रहेकोमा एक लाख ३५ हजार सेयर किनबेच भयो।
सर्वसाधारणसँग ग्लोबल आइएमई बैंकको १८ करोड ५८ लाख कित्ता सेयर रहेकामा एक लाख ९४ हजार सेयर किनबेच भयो। त्यस्तै, सर्वसाधारणसँग हिमालयन बैंकको ६ करोड ७७ लाख कित्ता सेयर रहेकामा ६९ हजार सेयर किनबेच भएको छ।
यो अनुपातले कम्पनी लगानीको लागि कत्तिको राम्रो छ वा छैन भनेर मूल्यांकन गर्दैन। तर कुनै पनि सेयर चाहिएको समयमा बिक्री गर्न वा किन्न परेमा वा सेयर कारोबार गर्न कत्तिको सजिलो छ भनेर हेर्न यसले सहयोग गर्छ।
बजारको अवस्था, कम्पनीको चुक्ता पुँजीको आकार, सेयर मूल्य वा विशेष घटनाक्रमले पनि किनबेचको अवस्थामा फरक आइरहेको हुन्छ। यस्ता विषयले पनि सेयर कारोबार अनुपातलाई फरक पार्न सक्छ।
त्यसैले एक दिनभन्दा केही लामो अवधिको सेयर कारोबार, कम्पनीको अवस्थामा कुनै परिवर्तन भए वा नभएको लगायत विषय हेरेर मात्रै लगानी निर्णय लिन बजार स्रोतहरू बताउँछन्।