इलियट किप्चोगे २ घन्टाभन्दा कम समयमा म्याराथान पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।
३४ वर्षीय केन्याली धावक किप्चोगेले ४२.२ किलोमिटरको दूरी १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन्। उनले शनिबार अस्ट्रियाको भियनामा भएको म्याराथनमा २ घन्टा भन्दा कम समयमा म्याराथन पूरा गरेका हुन्।
तर उनको यो समयलाई आधिकारीक रेकर्डको रुपमा भने मानिने छैन। किनभने यो खुला प्रतिस्पर्धा नभएको र उनले दौडका लागि आफ्नो पछाडि साथीको समूह राखेका थिए।
२ घन्टा भन्दा कम समयमा म्याराथन पूरा गरेपछि उनले केहि कुरा पनि सीमित नहुने बताएका छन्। उनले आफूले २ घन्टा भन्दा कम समयमा म्याराथन पूरा गरेको र अन्यले पनि अब पूरा गर्ने बताएका छन्।
कम समयमा म्याराथन पूरा गर्ने रेकर्ड पनि किप्चोगे कै नाममा छ। उनले सन् २०१८ मा जर्मनीमा भएको म्याराथनमा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका थिए।
२०१६ को रियो ओलम्पिक म्याराथनका च्याम्पियनसमेत रहेका उनले चार पटक लन्डन म्याराथनको उपाधि जितिसकेका छन्।