एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।
बुधबार इरानमा भएको खेलमा नेपाल ताजकिस्तानसँग ६-० गोलले पराजित भएको हो।
पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खायो।
ताजकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहदा गोलरक्षक सुमित कुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए।
तर दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै ताजिकिस्तानका खेलाडीले थप तीन गोल गर्दा उनको स्थानमा अनिस श्रेष्ठ मैदान प्रवेश गरे।
खेलपछि नेपालका सहायक प्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको बताएका छन्।
'हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। यो नतिजामा सुधार आएको मन्नु पर्छ,' बस्नेतले भने, 'ताजकिस्तानसँग हामीले धेरै सिक्ने मौका पायौ। यस खेलमा सिकेका कुरा अर्को खेलमा प्रयोग गर्ने छौ।'
त्यस्तै ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताए। 'सुरुवाती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो। तर पहिलो हाफको अन्त्यतिर नेपालको डिफेन्स कमजोर हुँदा हामीले फाइदा लियौ,' ताजकिस्तानका प्रशिक्षक डेडोभिकले भने।
सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह 'ए'मा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ।
खराब सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार बलियो उज्वेकिस्तानसँग खेल्ने छ।