एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर वारियर्स फाइनलमा प्रवेश गरेकाे छ।
टियू क्रिकेट मैदानमा भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखलाई शून्य रनमा गुमाएको विराटनगरको जितमा हङकङका बाबर हायात र अंशुमन रथले उत्कृष्ट खेल प्रदर्शन गरे।
बाबर र अंशुमनले दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गरे। अर्धशतक बनाएर आउट भएका बाबरले ६२ रन जोडे। प्रतियोगितामा तेस्रो अर्धशतक बनाएका बाबरले ४ चौका र ५ छक्का प्रहार गरेका थिए। अंशुमन २६ रनमा अविजित रहे भने कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै ४२ रनको योगदान दिए। भैरहवाका हरीशंकर शाह र पुनित मेहेराले १/१ विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।खराब सुरुवात गरेको भैरहवाको सम्मानजनक स्कोरको लागि आरिफ शेख र पुनित मेहेराले सम्हालिएको प्रदर्शन गरेका थिए । १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको भैरहवाका लागि शेख र मेहेराले पाँचौ विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। शेख ४६ रनमा क्याच आउट भए। उनले ३१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। मेहेरा ४९ रनमा आउट भए।
यस्तै भैरहवाका कप्तान शरद भेषवाकर ८ रनमा आउट हुँदा राहुल यादव ७, प्रथम सालुन्के ३ तथा भुपेन्द्र थापा २ रन बनाएर आउट भए। विराटनगरका करण केसी र सहान अदिशाले समान २ – २ विकेट लिए । त्यस्तै कप्तान पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले समान १ – १ विकेट लिए।
उपाधिको लागि विराटनगरले दोस्रो क्वालिफायर्सको विजेतासँग शनिबार खेल्नेछ। पराजित भैरहवाले पनि फाइनल प्रवेशको लागि दोस्रो एलिमिनेटर खेल खेल्न पाउनेछ। भैरहवाले अब ललितपुर ग्लाडीयटर्स र पोखरा राइनोजबीचको पहिलो एलिमिनेटर विजेतासँग खेल्नेछ। दोस्रो एलिमिनेटरमा विजेता हुने टोलीले फाइनलमा विराटनगरसँग खेल्नेछ।
इपिएल विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।