ललितपुर प्याट्रिएट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ। विजेता भैरहवा ग्लाडिएटर्सले शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँगको सामना गर्नेछ।
अन्तिम ओभरमा १३ रनको आवश्यकता हुँदा रोहितकुमार पौडेलले पहिलो बलमा नै छक्का प्रहार गरे। दोस्रो बलमा पनि लगातार छक्का प्रहार गर्दै उनले स्कोर लेभल बराबरी बनाएका थिए। अन्तिम ओभर सकिन ३ बल बाँकी छँदै रोहितले आफ्नो टिमलाई फाइनलमा पुर्याए।
रोहितले १७ बलमा २ छक्का र १ चौका प्रहार गर्दै नटआउट २८ रन बनाए । भैरहवाका लागि प्रथम सालुंकेले ३२ रन बनाएका थिए । उनले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका थिए । सन्दिप लामिछानेको बलमा आउट भएकै ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, भैरहवाका लागि भुपेन्द्र थापाले १९ रन बनाएका थिए ।
ललितपुरका लागि ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन दिएर २ विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।अन्तिम ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै ललितपुरका भारतीय खेलाडी दिनेश भण्डारीले २० रन जोडेपछि ललितपुर सो स्कोरमा पुगेको हो। उनले २२ रन जोडे।
त्यसअघि ओपनर जयकिसन कोल्सावाले सर्वाधिक ४२ रनको पारी खेले। ३७ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे।त्यस्तै,सन्नी पटेलले २४, ज्ञानेन्द्र मल्लले २०, शंकर रानाले १२ रन जोड्दा सोनु तामाङ १० रनमा नटआउट रहे।
भैरहवाका पुनित मिश्राले २ तथा हरिशंकर साह, भुवन कार्की र आरिफ सेखले समान १ विकेट लिए।