आगामी सेप्टेम्बर १३ देखि भारतमा हुने भनिएको एसिया कप २०१८ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ।
भारत र पाकिस्तानबीचको आन्तरिक सम्बन्धको कारण देखाउँदै एसिया कप भारतको सट्टा यूएईमा हुने भएको क्रिकेट सम्बन्धी समाचार दिने साइट क्रिक इन्फोले जनाएको छ।
यसबारे एसीसीमा छलफल भएको भन्दै एसियन क्रिकेट काउन्सिल र पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेट्ठीले भारतको सट्टा अर्को देशमा प्रतियोगिता आयोजना गर्नु उत्तम विकल्प हुने बताएका थिए।
यस्तै पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने इमर्जिङ टिम्स एसिया कप अप्रिलको सट्टा डिसेम्बरमा हुने भएको छ।
एसिया कपमा आइसिसिका फूल मेम्बर टिम ५ सहित ६ देशले भाग लिनेछन्। जसमध्ये भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको स्थान पक्का गरिसकेका छन् भने नेपालले प्ले अफ खेल्नु पर्नेछ।
नेपाल, यूएई, हङकङ र ओमानको विजेताले एसिया कप खेल्न पाउनेछन्। एसिया कपमा यसअघिको उपाधि भारतले जितेको थियो।