इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले चौथो हार ब्यहोरेको छ। आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गर्दै राजस्थान रोयल्सले भने तेस्रो जित निकालेको छ।
प्रतियोगितामा पाँच खेल खेलेको मुम्बईको यो चौथो हार हो। राजस्थानले छैठौं खेलबाट तेस्रो जित निकालेको हो।
१ सय ६८ रनको लक्ष्य पछ्याएको राजस्थानले २ बलअघि नै ७ विकेट गुमाएर विजयी भयो। उसका लागि सञ्जु सामसोनले ५२ तथा बेन स्टोक्सले ४० रन बनाउँदै जितको आधार तयार पारेका थिए। यस्तै मात्र ११ बल खेलेका कृष्णप्पाले ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेपछि टिमले रोमाञ्चक जित हात पारेको हो। अन्जिका रहाणे १४ रन बनाउँदै आउट भएका थिए ।
मुम्बईका लागि जसप्रित ब्रुमराह, हार्दिक पाण्डेयले समान २-२ तथा मिचेल म्याक्लेघानले, क्रुनाल पाण्डेय र मुस्ताफिजुर रहमानले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादव, इशान किशनको उत्कृष्ट साझेदारीमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो।
१२९ रनको साझेदारी गरेका उनीहरूमध्ये सूर्यकुमारले ७२ र इशानले ५८ रन बनाएका थिए।
किरोन पोलार्डले अविजित २१ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
राजस्थानका जोफ्रा आर्चेरले ३, धवल कुलकर्णीले २ विकेट लिए।
यसअघि आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ४ रनले हराउँदै चेन्नई सुपर किङ्स आइपिएलको शीर्षस्थानमा उक्लिएको छ।
आइपिएलमा सोमबार दिल्ली डेयर डेभिल्सले किङ्स ११ पञ्जाबको समाना गर्दैछ।
समूहको पुछारमा रहेको दिल्लीले यसअघि खेलेका ५ खेलमध्ये ४ मा हार व्यहोरेको छ भने पञ्जाबले ५ मध्ये ४ खेलमा जित हात पारेको छ।