दिल्ली डेयरडेभिल्सलाई उसकै घरेलु मैदानमा हराउँदै किङ्स ११ पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति भएको रोमाञ्चक खेलमा दिल्लीको चुनौती ४ रनले पन्छाउँदै पञ्जाब शीर्ष स्थानमा पुगेको हो।
आफूले खेलेका ६ मध्ये ५ खेल जितेको पञ्जाब १० अंकसहित शीर्ष स्थानमा हुँदा पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ।
नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि अवसर दिएन।
१ सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनमा समेटियो।
अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन आवश्यक थियो। श्रेयस एयर र अमित मिश्रा क्रिजमा थिए। पहिलो बल एरले डट खेले। दोस्रो बलमा छक्का प्रहार गर्दै खेलमा फर्किने लक्षण देखाएको दिल्लीले तेस्रो बल डट खेल्यो। चौथो बलमा २ रन बनाएका एयरले पाँचौ बलमा चौका प्रहार गरे।
अन्तिम बलमा जितका लागि दिल्लीलाई ६ रनको आवश्यकता थियो । तर, त्यहि बलमा विकेट गुमाउँदै दिल्ली दोस्रो जितबाट बञ्चित भएको थियो। श्रेयस एयरले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले घरेलु मैदानमा उल्लेख प्रदर्शन गर्न सकेनन्।
श्रेयसले ४५ बलमा ५७ रन बनाएका थिए। राहुल टिवाटियाले २४, पृथ्वी शाहले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
दिल्लीलाई सस्तैमा रोक्न पञ्जाबका अंकित राजपूत, एन्ड्रयू टे र मुजिब उर रहमानले समान २-२ तथा वरिन्द्र श्रनले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन मध्यम स्कोर बनाएको थियो। उसका लागि करून नायरले ३४, डेभिड मिल्नरले २६, लोकेश राहुलले २३, मयंक अग्रवालले २१, युवराज सिंहले १४ रन जोडेका थिए। दिल्लीसँगको खेलमा क्रिश गेललाई आराम दिइएको थियो।
दिल्लीका लागि लियम प्लङकेटल ३, ट्रेन्ट बोल्ट र अभेष खानले समान २ तथा डानियल क्रिस्टियनले १ विकेट लिएका थिए।
आइपिएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ।
हैदराबादले यसअघि खेलेका ५ खेलमध्ये ३ मा जित हात पारेको छ। यस्तै समान ५ खेलमा ४ खेल गुमाएको मुम्बईले २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।