किङ्स ११ पञ्जाबलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ।
बिहिबार घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा पञ्जावलाई १३ रनले हराउँदै हैदारावाद १० अंक सहित दोस्रो स्थानमा उक्लिएको हो।
१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि ओपनर लोकेश राहुलले ३२ र क्रिस गेलले २३ रन बनाएका थिए। करूण नायरले १३ र मयंक अग्रवालले १२ रन बनाए पनि बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
पञ्जावलाई सस्तैमा रोक्न हैदाराबादका रासिद खानले ३, सकिब, सन्दीप शर्मा र बसिल थम्पीले समान २-२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले मनीष पाण्डेको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। मनीषले ५४ रनको योगदान दिएका थिए। सकिब अल हसनले २८, युसुफ पठानले अविजित २१ र शिखर धवनले ११ रन बनाएका थिए।
पञ्जाबका लागि अंकित राजपुतले ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चेदै हैदारावादलाई कम योगफलमा समेटेका थिए। मुजिब उर रहमानले १ विकेट लिए।
गएरातिको खेलसँगै समान १० अंक भएको चेन्नई सुपर किङ्स राम्रो रन रेटका आधारमा शीर्ष स्थानमा कायमै छ। यस्तै एक खेल बढी खेलेको पञ्जाबको पनि समान १० अंक छ। पञ्जाब तेस्रो स्थानमा छ।
आइपिएलमा शुक्रबार दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।
६ खेलमा १ खेलमा जित र बाँकी सबै खेल गुमाएको दिल्ली २ अंकसहित पुछारमा छ। यस्तै कोलकाता ६ खेलमा ३ जितका साथ चौथो स्थानमा रहेको छ।