राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूले खेल खेलेको ११ महिनासम्म पनि 'म्याच फि' पाएका छैनन्।
गत माघ अन्तिम साता नेपालमा भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक सिरिजको 'म्याच फि' राष्ट्रिय क्रिकेटरले अहिलेसम्म पनि नपाएका हुन्।
क्रिकेटरलाई प्रत्येक खेलको ५ हजार रुपैयाँ दिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो।
लिग-२ मा नेपालले चार खेल खेलको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले ओमानविरुद्धका दुवै खेल गुमाउँदा अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो।
लिग-२ को मात्र होइन एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको पनि म्याच फि दिइएको छैन।
गत वर्षको फागुन दोस्रो साता थाइल्यान्डमा भएको प्रतिस्पर्धामा नेपालसहित थाइल्यान्ड, हङकङ, सिंगापुर र मलेसियाले भाग लिएका थिए।
प्रतियोगितामा सिंगापुरविरुद्धको खेल रद्द हुँदा नेपालले थाइल्यान्डलाई हराएको थियो। हङकङ र मलेसियासँग भने नेपाल पराजित भएको थियो।
यस्तै राष्ट्रिय क्रिकेटरले मासिक तलब पनि प्राप्त गर्न सकेका छैनन्। क्यानले केहि महिनाअघि महिला तथा पुरुष खेलाडीको वर्गीकरण गर्दै ६ महिनाको तलब दिने बताएको थियो।
तर २०२१ लागिसक्दा पनि राष्ट्रिय क्रिकेटरले २०२० को पहिलो ६ महिनाको तलब नै पाएका छैनन्।
सेतोपाटीले म्याच फि र तलब नदिनुको कारणबारे सोध्दा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट बजेट पारित हुन ढिलाइ भएको प्रतिक्रिया दिएको छ।
'खेलाडीको तलब, म्याच फि लगायतको बजेट पारित गर्न आइसिसीलाई पठाएको निकै समय भइसक्यो,' क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन्,'तर अहिले पनि प्रक्रियामा रहेको भन्ने जानकारी छ। रकम निकासा हुने बित्तिकै हामी सबैलाई तलब र भत्ता दिन्छौं।'
क्यानले बजेट अभावकै कारण आफ्ना कर्मचारी र ग्राउन्ड स्टाफको पनि तीन महिना देखिको तलब दिएको छैन। यसका लागि पनि क्यानले आइसिसीकै भर पर्नु पर्ने अवस्था छ।
क्यानको खातामा पैसा नभएकाले भत्ता र तलब दिन नसकेको सचिव प्याकुरेलको भनाइ छ।