गत माघ ७ गते सम्पन्न प्रधानमन्त्री महिला टि–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम टिमले जित हासिल गर्यो। यो जितमा कविता कुँवरले उत्कृष्ट प्रदर्शन गरिन्। उनी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।
उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल प्रहरीबाट खेलेकी थिइन्।
प्रधानमन्त्री महिला टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिताका लागि नेपाल प्रहरीले टिम बनाएन। कविता सुदूरपश्चिम टिमबाट सहभागी भइन्। उक्त प्रतियोगिताको उपाधि पहिलो पटक विभागीय टिमबाहिर गएको हो।
कविताले ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गरिन्। उनी उत्कृष्ट ब्याटर र सुनसरी प्लेयर अफ द च्वाइस समेत घोषित भइन्।
नेपाल खेलकुद महासंघ र जिल्ला क्रिकेट संघ सुनसरीले प्लेयर अफ द च्वाइसका उनलाई संयुक्त रूपमा स्कुटर प्रदान गरे। कविताले अहिलेसम्म चार वटा राष्ट्रिय क्रिकेटमा स्वर्णपदक जितेकी छन्।
कविता यो सफलतासम्म सहजै पुगेकी भने होइनन्। उनी निकै कठोर संघर्षबाट गुज्रिनु परेको छ।
अछामको साँफेबगरमा जन्मेकी कविता कैलालीको धनगढीस्थित मामाघरमा बसेर स्कुल पढ्थिन्। दस वर्ष उमेर पूरा भएकी थिइन्। स्कुलबाट फर्केपछि बल र ब्याट बोकेर मामासँग क्रिकेट खेल्न जान्थिन्।
नातिनी यसरी खेल्न हिँडेको कुरा हजुरआमालाई मन पर्दैन थियो। अझ केटाहरूसँग खेल्ने थाहा पाएपछि हजुरआमाको गाली नै खानुपर्ने भयो।
बुबा नेपाली सेनाका जागिरे भएकाले कविता बुबाआमासँगै काठमाडौंमा बस्थिन्। सैनिक मान्छे हिँडिरहनु पर्ने भएपछि आमाछोरी धनगढी बस्ने गरी गएका थिए। छोरी मामाघर बसेर पढ्न थालिन्। आमा पार्वती पनि धेरै जसो छोरीका साथ माइतमै बस्थिन्।
पार्वती छोरीलाई खेलमा रोक्न चाहन्न थिइन्। तर कुरा काट्नेहरूले 'केटाहरूसँग खेल्न पठाएको' भन्थे। यस्तो कुराले उनी खिन्न हुन्थिन्।
पार्वतीले भनिन्, 'छोरीलाई क्रिकेट खेल्ने ठूलो रहर थियो। तर हामी (पार्वती र पार्वतीकी आमा) लडेर चोटपटक लगाउँछे कि भनेर डराउँथ्यौं। मलाई छोरीले नखेलोस् भन्ने लागेको थिएन।'
खासमा कवितालाई क्रिकेटबारे केही पनि थाहा थिएन। मामाहरूले खेलेको देखेर रहर लागेको थियो। मामाहरू ब्याट र बल बोकेर हिँडेपछि उनी पनि कुदिहाल्थिन्।
उनी कहिले बलर हुन्थिन् त कहिले ब्याटर। दिन बित्दै जाँदा क्रिकेटमा उनको रूचि बढ्दै गयो। मामाहरूसँग बसेर टिभीमा क्रिकेट खेल हेर्न थालिन्। टिभीमा सधैं केटाहरूको खेल हुन्थ्यो। कवितालाई पनि क्रिकेट भनेको केटाहरूले मात्रै खेल्ने रहेछ भन्ने लागेको थियो।
एक दिन उनले केटीहरूले क्रिकेट खेलेको देखिन्। केटीको पनि टिम हुँदो रहेछ भन्ने थाहा पाइन्। त्यस दिन उनको खुसीको सीमा रहेन। त्यसै दिन उनले क्रिकेट खेलाडी बन्ने अठोट गरिन्।
कविताले त्यो दिन सम्झिँदै भनिन्, 'म त केटाहरूसँग खेल्थेँ। केटीको टिम हुन्छ भन्ने थाहा थिएन। टिभीमा केटीको टिम देखेपछि साह्रै खुसी भएँ।'
आठ वर्षअघिको एक दिन बजार जाँदा कविताकी काकीले एउटा चौरमा केटीहरू क्रिकेट खेल्दै गरेको देखिन्। क्रिकेट खेलाउँदै थिइन् सुदूरपश्चिमकी प्रशिक्षक जानकी भट्ट।
काकीलाई कविता पनि क्रिकेट खेल्न मन गर्छिन् भन्ने थाहा थियो। उनले तुरून्तै फोन गरिन् र केटीहरूको क्रिकेट प्रशिक्षण भइरहेको जानकारी गराइन्। कविता प्रशिक्षकको सम्पर्कमा पुगिन्। बल र ब्याट चलाउन बानी परेकै थिइन्। तुरून्तै प्रशिक्षणको अवसर पाइन्।
एक हप्ता टिममा अभ्यास गरेपछि खेलाडी भइन्। लगत्तै क्षेत्रीय टिमका लागि छनोटमा परिन्। उनले चाँडै प्रतियोगिता खेल्ने अवसर पाइन्। सात वर्षअघि क्षेत्र नम्बर ६ बैतडी टिमबाट पहिलो पटक यू–१६ क्रिकेट खेल्न जनकपुर गइन्। त्यहाँ उनले दुई खेल खेल्न पाइन्। प्रतियोगिताको पहिलो अनुभव लिइन्।
कविता खेलाडी भइन्। आमा र हजुरआमाबाट कुनै रोकावट भएन। पार्वतीले खेलमा अघि बढ्न सहयोग गरिन्। कविता टिममा परेर क्रिकेट खेल्न थालिन् तर उनीसँग खेल सामग्री केही थिएन। एक–दुई वर्षपछि बुबाले ब्याट, बल र अन्य अत्यावश्यक सामान किनिदिए।
ब्याट, बल र पञ्जा बोकेर हिँड्न थालेपछि कविता साँच्चै खेलाडी भइन्। उनको आत्मविश्वास बलियो हुँदै गयो। खेलमा राम्रो गर्न दृढ भइन्। क्षेत्रीय टिमबाट खेल्दाखेल्दै कविता राष्ट्रिय टिममा छनोट भइन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्ने अवसर पाइन्। खेल सामग्री आफैं किन्न सक्ने भइन्।
उनी हाल नेपाली महिला राष्ट्रिय क्रिक्रेट टिममा छिन्। अलराउन्डर खेलाडी हुन्। उनको ब्याटिङ र बलिङ दुवै राम्रो छ। उनी अब्बल सावित हुँदै छिन्। टिममा उनी ओपनर बलरका रूपमा स्थापित भएकी छन्।
सुदूरपश्चिम प्रदेशकी महिला क्रिक्रेट प्रशिक्षक जानकीका अनुसार कविता नेपाली टिममा ओपनर बलरका रूपमा चिनिन्छिन्। उनको ब्याटिङ पनि निकै राम्रो छ।
कविताबारे जानकी भन्छिन्, 'नेपालको बेस्ट बलर हुन्। ब्याटिङ पनि त्यत्तिकै राम्रो छ। अझै माइन्ड फोकस (ध्यान केन्द्रित) गरेर, बुझेर खेल्छिन्। भविष्य निकै राम्रो छ।'
नेपाली टिममा उनलाई ब्याटिङको पनि अवसर दिनुपर्ने जानकीको धारणा छ।
कविताका अनुसार हालसम्ममा उनले विदेशी ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरका २९ वटा प्रतियोगिता खेलेकी छन्। राष्ट्रिय प्रतियोगिता योभन्दा बढी खेलेकी छन्।
क्रिक्रेट खेलमा चम्किँदै गएपछि आमा पार्वतीको पनि खुसी बढेको छ।
'छोरीले क्रिक्रेट खेल्न थालेपछि मलाई सबैले तिमी त धेरै भाग्यमानी रहिछ्यौ भन्न थालेका छन्। छोरीको प्रगतिले निकै खुसी छु,' उनले भनिन्।
पार्वतीले आफ्नी छोरीको खेल टिभीमा मात्रै हेर्न पाएकी छन्। उनी मैदानमै गएर हर्न चाहन्छिन् तर अवसर जुरेको छैन।
'मेरै आँखाअगाडि छोरीले खेलेको हेर्ने साह्रै धोको छ,' उनी भन्छिन्, 'जहाँ गएर भए पनि एक पटक हेर्छु भन्ने सोचेकी छु।'
बुबा सैनिक सेवाबाट निवृत्त भइसकेका छन्। हाल उनी साँफेबगरको एक बैंकमा कार्यरत छन्। परिवारजन धनगढीमा भाडाको घरमा बस्छन्।
नेपाली महिला क्रिकेटको राष्ट्रिय टिममा आबद्ध कविता नेपाल क्रिक्रेट संघले (क्यान) मासिक १८ हजार रूपैयाँ पारिश्रमिक पाउँछिन्। उनी यही पैसाबाट खर्च चलाउँछिन्। बेलाखबत आमालाई पनि मदत गर्छिन्। धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी उनी अहिले क्याम्पस पढ्दै छिन्।
कविता अन्तर्राष्ट्रिय लिग खेल्ने सपना बोकेर अभ्यास गर्दैछिन्।
'क्रिक्रेट मेरा लागि सबथोक हो। मेरो एक सपना छ आइपिएल खेल्ने,' कविताले भनिन्।
उनी विश्वकपमा नेपाली टिमले जितेको हेर्न चाहन्छिन्। उनको अनुभवअनुसार नेपाली महिला टिम फिल्डिङमा कमजोर छ, ब्याटिङ नचलेर अन्तर्राष्ट्रिय प्रतियोगितामा हार बेहोर्नु परेको छ। कमजोरीहरू सुधारेर खेल्न सके नेपाली महिला क्रिक्रेट टिमले निकै राम्रो गर्न सक्ने कविताको विश्वास छ।