एसिया कप २०२३ का लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ। भारतले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो।
टिममा तिघ्रा र ढाडको चोटबाट निको भएका केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका छन्।
सोमबार दिल्लीमा छनोट समितिका अध्यक्ष अजित आगरकरले घोषणा गरेको टिममा तिलक वर्मा पनि समावेश छन्।
अनुभवी लेगस्पिनर युजवेन्द्र चहललाई टिमबाट बाहिर राख्दा रविन्द्र जडेजा र अक्षर पटेलसहित कुलदीप यादव स्पिनरको रुपमा टिममा परेका छन्।
एसिया कपका लागि भारतीय टिम : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज, मोहम्मद शामी, इशान किशन (विकेटकिपर), शार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा, प्रसिद्ध कृष्ण
एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपालसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्।
एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ। एक साता पाकिस्तानमा तयारीका दौरान नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ।
नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ।
एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्।
एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ।
नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। त्यसअघि भदौ १६ मा भारत र पाकिस्तानबीच खेल हुनेछ।
तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।