राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।
मंगलबार राष्ट्रपति भवन शितल निवासमा खेलाडीहरूलाई राष्ट्रपतिले शुभकामना दिएका हुन्।
भदौ १३ गतेदेखि पाकिस्तानमा एसिया कप क्रिकेट प्रतियोगिता हुँदैछ।
अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागीताले खेलाडीलाई व्यक्तित्व निर्माण गर्ने अवसरसहित अन्तर्राष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा बढाउन योगदान दिने राष्ट्रपतिले बताए।
‘नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको छ,’ उनले भने, ‘यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्दछ भन्ने मलाई लाग्छ।’
भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय भएको उनले बताए।
‘उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईंहरूको अहोरात्रको मेहनत र परिश्रम आवश्यक छ,’ उनले भने।