नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
खड्काले आगामी भदौ १५ मा हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
उनलाई बागमतीका ६ जिल्ला मध्ये ४ जिल्लाले समर्थन गरेका छन्।
उनलाई काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्ला क्रिकेट संघले अध्यक्षमा समर्थन गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए।
बागमती प्रदेशको निर्वाचनमा ६ जिल्लाबाट ४-४ प्रतिनिधि गरी २४ भोट तथा हालको कार्यसमितिको १३ भोट गरी कुल ३७ भोट हुन्छ।
चार जिल्लाको समर्थनपछि १६ भोट उनको पक्षमा आउन सक्नेछ। यस्तै कार्यसमितिका ७ जनाको पनि समर्थन रहेको शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो। जसका कारण पारसको पक्षमा २३ भोट देखिएको छ।
काठमाडौंका जिल्ला अध्यक्ष दिवाकर घलेले आफ्नो जिल्लाबाट पारसलाई अघि सारेको बताए। साथै उनले चार जिल्लबाहेक चितवन र नुवाकोटले पनि समर्थन गर्ने विश्वास गर्दै सर्वसम्मत अध्यक्ष बनाउने प्रयास गरेको बताए।
उक्त पत्रकार सम्मेलनमा प्रदेश संघको उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर जिल्ला र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति बनेको जानकारी दिइएको छ।
बागमतीको अध्यक्षमा चितवनका सुदिप पियाको उम्मेदवारी हुने बताइएको छ।