क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा २०२३ पहिलो पटक रातो कार्ड देखाउँदै खेलाडीलाई मैदान बाहिर पठाइएको छ।
ट्रिनबागो नाइट राइडर्सले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध आइतबार बलिङ गर्दा ट्रिनबागोले रातो कार्ड पाएको थियो। त्यसपछि कप्तान केइरन पोलार्डले बलर सुनिल नारायणलाई मैदान बाहिर पठाउने निर्णय गरेका थिए।
खेलको अन्तिम तीन ओभरमा आवश्यक ओभर रेटमा बलिङ गर्न नसक्दा रातो कार्ड देखाइएको हो।
जसका कारण अन्तिम ओभरका लागि ट्रिनबागोका १० जना मात्रै बाँकी थिए। सुनिल बाहिरिएसँगै ३० यार्डको सर्कलभन्दा बाहिरका दुईजना फिल्डर मात्र तैनाथ थिए।
सिपिएलको नयाँ नियम अनुसार बलिङ टोलीले १८औं ओभर समयमै सुरु गरेन भने एक अतिरिक्त फिल्डर ३० यार्डको सर्कलमा राख्नु पर्छ। यसपछि ५ जना फिल्डर सर्कल भित्र हुन्छन्।
यदि १९औं ओभर समयभित्र सुरु नगरे आउटफिल्डबाट दुई फिल्डर सर्कलमा प्रवेश गर्नुपर्छ। यसपछि ६ जना फिल्डर सर्कलभित्र हुन्छन्।
फाइनल ओभर समयमै सुरु नगरे एक फिल्डर (कप्तानले छनोट गरेको) मैदान बाहिर जानु पर्छ जसका कारण सर्कल बाहिर दुई खेलाडीहरू मात्र हुन सक्छन् भने ६ फिल्डर सर्कलभित्र हुन्छन्।
खेलमा टिनवागोले तीनवटै पेनाल्टी बेहोर्यो। यो नियम अन्तिम तीन ओभर बलिङ गर्दा लागू हुन्छ।
यद्पी खेलमा टिनवागो ६ विकेटले विजयी भयो। उसले १७९ रनको लक्ष्य १७.१ ओभरमा ४ विकेट गुमाएर पार गरेको थियो।