नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कप २०२३ का खेललाई स्मरणीय बनाउने बताएका छन्।
एसिया कप २०२३ को अन्तिम तयारीका लागि पाकिस्तानमा रहेका रोहितले नेपाल टिम भावनाले अघि बढ्ने बताएका हुन्।
उद्घाटन खेलमा भदौ १३ गते घरेलु टिम पाकिस्तानसँग मुल्तानमा खेल्नुअघि उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'चुनौतीहरू अँगाल्न, सपनाहरू पछ्याउन र जोशका साथ खेल्ने यात्रामा छौं। ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच र मैदानमा प्रत्येक क्षण हाम्रो लक्ष्यको एक कदम नजिक छ। समर्पण, टोली भावना र समर्थकको अटल साथ हामी टोली राष्ट्र र विरासतको आशा बोकेर अगाडि बढ्छौं। यो खेललाई स्मरणीय यात्रा बनाऔं!'
एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दा नेपालले इतिहास बनाउनेछ। नेपालले विश्वको शीर्ष वरीयताको टिमसँग पहिलो पटक खेल्नेछ।
एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले विश्व क्रिकेटका शक्त राष्ट्रद्वय पाकिस्तान र भारतसँग भिड्नेछ।
एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्।
एसिया कपको पहिलो पहिलो खेल अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेलेपछि नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।
तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।