एसिया कप २०२३ अन्तर्गत नेपालले सोमबार छिमेकी भारतसँग खेल्दैछ। नेपालले सिनियर स्तरमा भारतसँग खेल्ने लागेको यो पहिलो खेल हो।
उमेर समूहमा भने नेपालले भारतीय उमेर समूहका टिमसँग प्रतिस्पर्धा गरेको थियो। जसमा नेपालले एक पटक मात्र जित हासिल गर्न सफल भएको छ।
२०१७ मा नेपाली यू-१९ टिमले भारतको यू-१९ टिमलाई हराएर रेकर्ड बनाएको थियो। मलेसियामा भएको यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि १९ रनको जित निकालेर इतिहास बनाएको थियो। नेपालले कुनै पनि स्तरमा भारतलाई हराएको पहिलो जित थियो, त्यो।
त्यतिबेला नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए। उनले खेलमा ८८ रन बनाउँदा ४ विकेट लिँदै कप्तानी प्रदर्शन गरेका थिए।
हाल नेपालको मुख्य प्रशिक्षक रहेका मोन्टी देसाई त्यतिबेला नेपाली टिमको कन्सल्ट्यान्ट प्रशिक्षक बनेर केही महिनाका लागि नेपाल आएका थिए। उनकै रणनीतिमा नेपालले यू-१९ एसिया कपमा राम्रो खेल देखाएको थियो।
भारतीय टिमको प्रशिक्षक राहुल द्रविड थिए। नेपालले भारतलाई हराउन देसाईको भूमीका रहेको भन्दै प्रशंसा समेत भएको थियो। यद्यपी त्यतिबेला भारतले दोस्रो रोजाइका खेलाडीलाई एसिया कप खेलाएको भन्दै आलोचना समेत भएको थियो।
देसाई र द्रविड यतिबेला दुवै देशको सिनियर टिमको प्रशिक्षक छन्। अहिले दुवै सिनियर टिमको प्रशिक्षकको रुपमा एकआपसमा भिड्दैछन्।
६ वर्षअघिको खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार प्रदर्शनसँगै नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रच्न सफल भएको थियो। ८८ रन बनाएर भारतको चार विकेट लिएका कप्तान ऐरी खेलको ‘म्यान अफ दी म्याच’समेत भएका थिए।
मलेसियाको वायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो।
नेपालका लागि कप्तान ऐरीले सर्वाधिक ८८ रन जोडे। उनले १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का हिर्काएका थिए। त्यस्तै ओपनिङ ब्याट्सम्यान जितेन्द्र सिंहले ३६ रनको योगदान गरेका थिए। उनले ९५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३ रन मात्र जोड्न सकेका थिए।
अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किएका थिए। यसपछि आएका भीम सार्कीले १५ रनको योगदान गरेका थिए। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए। पवन सर्राफ १ रनमै पेभेलियन फर्किएका थिए। कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले नटआउट ९ र किशोर महतोले नटआउट ७ रन जोडेका थिए।
बलिङतर्फ भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २–२ विकेट लिए। मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अथर्व टइडेले १–१ विकेट हात पारेका थिएर
नेपालले दिएको १८६ मध्यम लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सकेको थियो। उसका लागि ओपनर तथा कप्तान हिमांशु रानाले ४६ रन जोडे। ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका उनलाई नेपालका कमलसिंह ऐरीले बोल्ड आउट गरेका थिए।
कप्तान दीपेन्द्रसिंह ऐरीले आदित्य ठाक्रेलाई १३ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा पारे। मनोज कर्ला ३५ र सलमान खान १ रनमा आउट भएका थिए। मनोजलाई पवन सर्राफ र सलमानलाई साहब अलामले आउट गरे। अनुज रावलले २६ बलमा १८ रन जोडे। यसपछि आएका तनुस कोइटेनलाई शून्य रन पेभिलियन फर्काउन नेपाल सफल भएको थियो।
अभिषेक शर्मा २७ रन बनाएर खेलिरहँदा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो। लगत्तै कप्तान दीपेन्द्रसिंह ऐरीले मन्दीप सिंहलाई शून्य रनमा आउट गरेका थिएक। ऐरीले नै शिव सिंहलाई ९ रनमा आउट गरेका थिए। यसरी कठीन परिस्थितिमा पनि बलिङतर्फ सशक्त प्रदर्शन गरेका कारण नै नेपालको जित सम्भव भएको थियो।