एसिसी यू-१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ।
युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालले पाँच विकेट गुमाइसकेको छ।
खेलमा नेपालले सय रन पूरा गरेको छ। नेपालले ३०.३ ओभरमा ५ विकेटको क्षतिमा सय रन पूरा गरेको हो। सय रन पूरा गर्दा नेपालका लागि उत्तम थापा मगरले ३४ रन र दिपेश कडेँलले २१ रन बनाएर खेलिरहेका छन्।
ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। उनी आउट हुँदा नेपालले १६ ओभरमा ४ विकेट गुमाउँदा ४३ रन जोडेको थियो। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरे।
त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन रावाल, दिपेश कडेँल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा, उत्तम थापामगर।
यू-१९ स्तरमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म पाँच खेल हुँदा पाकिस्तानले चार खेल र नेपालले एक खेलमा जित निकालेका छन्।
नेपालले सन् २००२ को यू-१९ विश्वकपमा पाकिस्तानलाई ३० रनले हराएको थियो। त्यसयता खेलिएका चार खेलमा भने पाकिस्तानले लगातार जित निकालेको छ।
समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलंका छन्।
यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।
नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।
नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।