एसिसी यू-१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ।
युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरेका छन्। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गरे। उनले ३९.४ ओभरमा अर्धशतक पूरा गर्दा नेपालले ८ विकेटको क्षतिमा १३२ रन जोडेको थियो।
नेपालका दिपेश कडेँल ३१ रन बनाए। उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनी आउट हुँदा नेपालले ३३.४ ओभरमा ६ विकेटको क्षतिमा ११४ रन जोडेको थियो। कडेँल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके। यस्तै विकेटकिपर विपिन रावलले पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए।
त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।
त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन रावाल, दिपेश कडेँल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा, उत्तम थापामगर।
समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलंका छन्।
यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।
नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।
नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।